शनिबार उद्घाटन हुने नेकपा (एमाले) को ११ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा निर्माणको काम अन्तिम चरणमा पुगेको हो । मङ्सिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको उद्घाटनसत्र सल्लाघारीमा हुनेभएको हो ।
देशका विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरु आजसम्म करिब सबै आइसक्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
उद्घाटनस्थल विश्व सम्पदासूचीमा परेको चाँगुनारायण मन्दिरको स्थापत्य झल्किने गरी निर्माण हुँदैछ । भक्तपुरसहित उपत्यकाका ऐतिहासिक–सांस्कृतिक सम्पदाको पहिचानलाई मञ्चमा समेटिने गरी मल्लकालीन शैलीमा मञ्च निर्माण भइरहेको छ । मञ्च निर्माणमा खटिनुभएकी नेकपा (एमाले) भक्तपुर जिल्ला उपाध्यक्ष तथा बागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापाले रातदिन मञ्च निर्माण, अस्थायी संरचना स्थापनासहितका काम जारी रहने बताउनुभयो।
चाँगुनारायण मन्दिरको आभास दिनेगरी निर्माण भइरहेको मुख्य मञ्च बाहिरबाट हेर्दा नै आकर्षक देखिने र मञ्चबाट उभिएर मन्तव्य दिँदा मन्दिरको सिँढीमै उभिएको अनुभूति हुनेगरी विशेष डिजाइन गरिएको उहाँले बताउनुभयो । मञ्चमा नेवारी कला–संस्कृति झल्कने दृश्य, प्रतीक तथा सजावटका संरचनाहरू राखिनेछन् । मञ्चको उत्तरतर्फ करिब ३० वटा अस्थायी शौचालय निर्माण भइरहेको छ । त्यस्तै उद्घाटनका दिन झाँकी प्रदर्शन गर्ने गेट, प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूका लागि छुट्टै प्रवेशद्वार र सर्वसाधारणका लागि पृथक् गेट निर्माण हुँदैछ ।
उद्घाटन समारोहस्थलमा तीन लाख जनासम्म अट्नेगरी तयारी भइरहेको छ । प्रमुख दर्शकस्थलतर्फ २५ हजार कुर्सी राखिने र एमालेसहित विभिन्न दलका शीर्ष नेता, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरू सहभागी हुने व्यवस्था मिलाइने उपाध्यक्ष थापाले बताउनुभयो ।
मञ्च निर्माणस्थलमा अनुगमन गर्न पुग्नुभएका एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले कार्यक्रम भव्य र अनुशासित बनाउन १० हजार नेशनल भोलेन्टियर्स तथा अन्य जनसङ्गठनका स्वयंसेवक परिचालन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार पोसाकसहितका ५ सय ५० स्वयंसेवक विशेष रूपमा व्यवस्था गरिनेछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर २७ गते मध्यान्ह उद्घाटन गर्ने कार्यक्रम रहेकाले पूर्वतर्फबाट जगाती र पश्चिमतर्फबाट गठ्ठाघर हुँदै विशाल र्यालीसहित सहभागीहरू सभास्थलतर्फ जाने व्यवस्थासमेत मिलाइएको उहाँले बताउनुभयो ।


