काठमाडौं , पौष ०६
सफल नेपाली फिल्म ‘घरज्वाइँ’ निर्देशन गरेका निर्देशक अनिल बुढा मगरले आफ्नो दोस्रो फिल्म ‘मितज्यू’ का लागि वर्कसप सुरु गरेका छन्। शनिबारदेखि सुरु गरिएको वर्कसपमा तेरिया फौजा मगर, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायत कलाकारको सहभागिता रहेको छ।
निर्देशक मगरका अनुसार कलाकारहरूले आफूले निभाउनुपर्ने भूमिकाबारे थप स्पष्टता पाओस् भन्ने उद्देश्यले वर्कसप सञ्चालन गरिएको हो। उनका अनुसार वर्कसप केही दिनसम्म निरन्तर चल्नेछ।
फिल्मका निर्माता जनक घर्ती मगरले कलाकारहरूलाई वर्कसपमार्फत आफ्नो पात्र र कथाबारे विस्तृत जानकारी दिइँदा छायांकन सहज हुने बताए। उनका अनुसार कलाकारले भूमिकाबारे राम्रो समझ पाएपछि अभिनय सहज हुने, समय र खर्च दुवै कम हुने भएकाले वर्कसप महत्वपूर्ण रहेको छ।वर्कसप जिएम मुभिजको कार्यालयमा भइरहेको निर्माण टिमले जानकारी दिएको छ।
फिल्ममा **दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई र खड्क बहादुर पुन मगर (खबपु)**लगायत कलाकारको अभिनय रहनेछ।
यस फिल्ममा मुख्य सहायक निर्देशकको रूपमा फिरोज खड्का कार्यरत छन् भने सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई रहनेछन्।
फिल्ममा प्रोडक्सन डिजाइन किशोर नेपाल, ड्रेस डिजाइन संगीता रोका मगर, सम्पादन लोकश बज्राचार्यले गर्नेछन्। गीत–संगीतमा श्रीकृष्ण बम मल्ल र प्रकाश सपुत रहनेछन्। छायांकन शिशिर शिशङखे, द्वन्द्व निर्देशन प्रभाद बिष्ट, साउण्ड डिजाइन नविन श्रेष्ठ र वितरण आर आर फिल्मसले गर्नेछ।
रोल्पाका विभिन्न स्थानमा छायांकन हुने फिल्म आगामी माघको पहिलो साताबाट सुटिङमा निस्किनेछ। निर्माण टिमका अनुसार फिल्म आगामी जेठ १५ गते (गणतन्त्र दिवसको अवसरमा) देशभर प्रदर्शनमा आउनेछ।


