काठमाडौं , पौष २९
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र ‘रोल नं. १’ को पहिलो चरणको छायांकन सम्पन्न भएको छ ।म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण क्षेत्रहरूमा करिब डेढ महिना (४२ दिन) लगाएर चलचित्रको मुख्य हिस्सा खिचिएको हो । दुई साताको वर्कसपपछि गत मंसिर १५ गतेदेखि म्याग्दीबाट सुरु भएको छायांकन तालिका ४५ दिनको तय गरिएको थियो । प्रतिकूल मौसम र प्राविधिक चुनौतीका बाबजुद निर्धारित समयकै आसपासमा पहिलो चरणको छायांकन सकिएको निर्माता विनोद पौडेलले जानकारी दिए ।
हिमाली जिल्ला म्याग्दीको अत्यधिक चिसोले छायांकन टोलीलाई ठूलो चुनौती दिएको पौडेलले बताए । उनका अनुसार कलाकारभन्दा बढी प्राविधिक टोलीले चिसोको समस्या झेल्नुपरेको थियो । विशेषगरी रात्रिकालीन दृश्य खिच्दा राति १० बजेपछि तापक्रम अत्यधिक घट्ने भएकाले काम गर्न कठिन भएको उनले बताए ।
“हामी ४५ दिनको तालिका लिएर निस्केका थियौं, तर ४२ दिनमै म्याग्दीको सेड्युल सक्यौं । सिनेमा उत्कृष्ट बनाउन कुनै सम्झौता गरेनौं,” पौडेलले भने, “केही दिन आराम गरेर बाँकी काम सुरु गर्नेछौं ।”केही दिनको विश्रामपछि काठमाडौँका बाँकी दृश्यहरूको छायांकन पनि चाँडै सुरु हुने उनले जानकारी दिए ।
जोन योञ्जनको निर्देशन तथा कथामा निर्माण भइरहेको यो चलचित्र पूर्ण रूपमा बाल मनोविज्ञानमा आधारित छ । विद्यार्थीहरूमा देखिने सामाजिक दबाब, झूटो प्रतिष्ठा र ‘जित्नैपर्ने’ मानसिकताले पार्ने प्रभाव वरिपरि चलचित्रको कथा केन्द्रित रहेको निर्माण टिमले जनाएको छ ।
गत वर्ष सार्वजनिक गरिएको चलचित्रको ‘फर्स्टलुक’ पोस्टरमा कक्षाकोठामा हात उठाएर उपस्थिति जनाइरहेको एक बालकको मार्मिक दृश्य देखाइएको थियो, जसले दर्शकको ध्यान खिचेको थियो ।
चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी र निर्भिक रेग्मी मुख्य भूमिकामा छन् । बाल शिक्षा र मनोविज्ञानजस्तो गम्भीर विषयलाई व्यावसायिक सिनेमाको ढाँचामा प्रस्तुत गर्न लागिएको ‘रोल नं. १’ लाई अर्थपूर्ण चलचित्रका रूपमा हेरिएको छ ।
चलचित्रको प्रदर्शन मिति भने हालसम्म तय गरिएको छैन । छायांकन र पोस्ट–प्रोडक्सनको सम्पूर्ण काम सकिएपछि मात्रै रिलिज मिति घोषणा गर्ने तयारी निर्माण टिमको छ ।


