काठमाडौं । चलचित्र ‘शिवांश’ को गीत ‘बैंश भुसुक्कै’ सार्वजनिक गरिएको छ। निर्माण पक्षले आज युट्युबमार्फत गीत सार्वजनिक गरेको हो।गीतमा राजनराज शिवाकोटी र समीक्षा अधिकारी को स्वर रहेको छ। राजनराज शिवाकोटी र सरोज रञ्जितकार को शब्द रहेको गीतमा संगीत पनि राजनराज शिवाकोटी ले नै भरेका छन्।
लोकलयमा आधारित प्रेमिल गीतमा टिपिकल नेपाली शब्दको प्रयोग गरिएको छ। गाउँबेसीमा प्रयोग हुने मिठासपूर्ण शब्द र सरल लयले गीतलाई क्याची बनाएको छ। प्रेमी–प्रेमिकाबीचको आपसी तारिफ, भाग्य, माया–मोह, प्रेम र आकर्षण गीतका मुख्य भाव हुन्।
गीतको भिजुअलमा पनि निर्माण पक्षले विशेष मेहनत गरेको देखिन्छ। विक्रम चौहान को कोरियोग्राफी रहेको भिडियोमा चलचित्रका मुख्य कलाकार तेज गिरी, बिमला लिम्बू र बारत लिम्बू को अभिनय रहेको छ।
महाशिवरात्रिको अवसर पारेर चलचित्र ‘शिवांश’ आगामी फागुन १ गते रिलिज हुने तयारीमा छ। अञ्जान सिनेमा प्रोडक्सन हाउस को प्रस्तुति रहेको यो चलचित्रको निर्देशन सन्तोष कुमार आत्रेय ले गरेका हुन्, जसले यही फिल्ममार्फत निर्देशनमा डेब्यु गर्दैछन्। चलचित्रका निर्माता अञ्जान केसी हुन्।
फिल्ममा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा छन्। साथै विकास जोशी, बिमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौला र कुन्दन लगायत कलाकारको अभिनय रहेको छ।
चलचित्रको कथा अञ्जान केसी ले लेखेका हुन् भने सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन्। बारत लिम्बू को स्क्रिनप्ले रहेको फिल्ममा गीतरचना विप्लव प्रतीक र राजनराज शिवाकोटी को छ। संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटी को रहनेछ।
फिल्मको डीओपी सरद महतो हुन्। द्वन्द्व निर्देशन मिलन श्रेष्ठ, कोरियोग्राफी विक्रम चौहान, आर्ट डिरेक्शन तथा प्रोडक्सन डिजाइन प्रतीक चौधरी ले गरेका छन्। विराज खड्का भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर र आदेश सुब्बा (गुडरेज पिक्चर्स) भीएफएक्स प्रोड्युसर रहेका छन्।चलचित्र चौतारी मा पोस्ट–प्रोडक्सन सम्पन्न गरिएको फिल्मको वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन) ले गर्नेछ।


