काठमाडौं । यही माघ १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘आ बाट आमा’ को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गर्दै ट्रेलर रिलिज गरेको हो।
सार्वजनिक ट्रेलरले नेपालको पछिल्लो समसामयिक यथार्थलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ। देशमै अवसर नपाएर भविष्य खोज्दै परदेशिन बाध्य भएका युवाहरूको कथा तथा अभिभावकले सन्तानप्रति राख्ने गहिरो माया फिल्मको मूल कथावस्तु हो।
ट्रेलरमा आमाको भूमिकामा विपना थापा, बुबाको भूमिकामा भारतीय वरिष्ठ अभिनेता प्रदीप रावत र छोराको भूमिकामा अभिनेता पल शाह देखिएका छन्। आमाबुबा र छोराबीचको भावनात्मक सम्बन्धलाई ट्रेलरमै प्रभावशाली रूपमा महसुस गर्न सकिन्छ।
ग्रामीण परिवेशमा हुर्किएका आमाबुबा र सन्तानबीचको आत्मीय सम्बन्धलाई केन्द्रमा राख्दै निर्देशक चन्द्र पन्तले कथा बुनेका छन्। फिल्मको स्लोगन—
‘बा–आमाले परिश्रमले घर बनाउनु भयो, हामीले रहर र बाध्यताले पासपोर्ट बनायौं।’
ले बाध्यताले विदेशिनुपरेका नेपाली युवाहरूको पीडालाई गहिरो रूपमा व्यक्त गर्छ।
ट्रेलरमा साथीभाइको लहैलहैमा विदेश जाने सपना देख्दै अष्ट्रेलिया पुग्ने युवकको यात्रा देखाइएको छ, जसले फिल्मको कथावस्तु कुन दिशामा अघि बढ्छ भन्ने संकेत दिन्छ।
ट्रेलरमा फिल्मका सबै प्रमुख कलाकारलाई समेटिएको छ। निर्देशक चन्द्र पन्तकै लेखन तथा पटकथा रहेको यस फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, विशाल पहाडी, रविन्द्र झा, साईग्रेस पोखरेल, सिम्रन पन्त, गजित बिष्ट, हेमराज अधिकारी (खनत्या खलास), उषा उप्रेती र दिलिप अखेडा लगायत कलाकारहरूको अभिनय रहेको छ।
ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्माता रहेको फिल्मका कार्यकारी निर्माता कृष्णप्रसाद सुवेदी र ओमकार पन्त हुन्।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको छायांकन निर्देशक (डिओपी) नवराज उप्रेती हुन्। संगीतमा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको योगदान रहेको छ। फिल्मको वितरण अधिकार आरआर फिल्म्ससँग रहेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।


