काठमाडौं । सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘सिन्दुरे जात्रा’ ले कलाकार अनुबन्ध प्रक्रिया सुरु गरेको छ। सरस्वती पूजाको अवसर पारेर निर्माण पक्षले आज चलचित्रका मुख्य दुई कलाकार सार्वजनिक गरेको हो।
चलचित्रमा अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइली अनुबन्ध भएका छन्। ब्लकबस्टर निर्देशक सरोज पौडेलसँग यी दुवै कलाकारको यो दोस्रो सहकार्य हो। यसअघि उनीहरू निर्देशक पौडेलकै निर्देशनमा बनेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ मा सँगै देखिएका थिए।
‘पूर्णबहादुरको सारङ्गी’ नेपाली चलचित्र इतिहासकै सर्वाधिक कमाउने चलचित्र बन्न सफल भएको थियो। चलचित्रले नेपाली बक्स अफिसमा झण्डै ५० करोड रुपैयाँभन्दा बढी व्यापार गर्दै नयाँ इतिहास रचेको थियो।
सोही सफलतापछि निर्देशक सरोज पौडेल नेपाली चलचित्र क्षेत्रमा ‘ब्लकबस्टर निर्देशक’ का रूपमा स्थापित भएका हुन्। उनले साधारण गन्धर्व परिवारको कथा, बुबा–छोराबीचको भावनात्मक सम्बन्ध र शैक्षिक संघर्षलाई मार्मिक ढङ्गले प्रस्तुत गर्दै देशभरका दर्शकको मन जितेका थिए।
यो चलचित्र अभिनेता विजय बरालको करियरको टर्निङ पोइन्ट समेत बन्यो। उनले चलचित्रमा ‘पूर्णबहादुर’को केन्द्रीय भूमिका निर्वाह गरेका थिए भने अञ्जना बराइलीले उनकी श्रीमतीको भूमिका निभाएकी थिइन्। सोही सफल ‘लक्की टिम’लाई लिएर निर्देशक पौडेलले अब ‘सिन्दुरे जात्रा’ सुरु गर्न लागेका हुन्।
अन्य कलाकारहरू चरणबद्ध रूपमा अनुबन्ध गर्दै जाने निर्देशक पौडेलले जानकारी दिए।“सिन्दुरे जात्रामा हामी कथासँग सुहाउने कलाकारहरूलाई क्रमशः अनुबन्ध गर्दै जानेछौँ,” निर्देशक पौडेलले भने, “अबको केही समयमा कलाकार फाइनल गरेर अन्य तयारीमा जुट्छौँ।”
चलचित्रलाई उत्कृष्ट बनाउने लक्ष्यसहित कुनै पनि सम्झौता नगर्ने निर्देशकको भनाइ छ।“विजय र अञ्जना अहिलेका रुचाइएका कलाकार हुन्, तर हामीले लोकप्रियताका आधारमा मात्रै कलाकार छनोट गरेका होइनौँ,” उनले स्पष्ट पारे, “कथाले मागेपछि नै उहाँहरूलाई अनुबन्ध गरिएको हो।”
चलचित्रको लेखन सबिन अधिकारी र वसन्त न्यौपानेले गरेका हुन् भने कथा स्वयं निर्देशक सरोज पौडेलको रहेको छ।चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ भने ओएसआर डिजिटल डिजिटल पार्टनरको रूपमा रहनेछ।
चलचित्रको प्रदर्शन मितिबारे भने निर्माण पक्षले हालसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन।५० करोडको कीर्तिमान बनाएको सफल टिम पुनः एकसाथ आउन लागेपछि चलचित्र क्षेत्र र दर्शकमाझ ‘सिन्दुरे जात्रा’ प्रति अहिलेदेखि नै ठूलो उत्साह र अपेक्षा देखिएको छ।


