काठमाडौं – माघ २३ गते नेपालभर प्रदर्शनमा आउन लागेको वर्षकै प्रतीक्षित नेपाली प्रेम कथानक चलचित्र ‘कुमारी’ को ओभरसिज प्रदर्शन अधिकार विभिन्न देशहरूमा बिक्री भएको छ। निर्माता महेन्द्र अधिकारीका अनुसार चलचित्र अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, क्यानडा तथा मध्यपूर्वका देशहरूमा प्रदर्शन हुने पक्का भइसकेको छ।
अस्ट्रेलियामा असकास्ट नेपाल र थ्री केजी इभेन्ट्स, अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोलोराडो, क्यानडामा मेरो इभेन्ट्स तथा मध्यपूर्वका देशहरूमा नेपफिल्म ले चलचित्र रिलिज गर्नेछन्।
काठमाडौंको भृकुटीमण्डपमा दश हजारभन्दा बढी दर्शकको ऐतिहासिक उपस्थितिमा ट्रेलर सार्वजनिक भएपछि ‘कुमारी’ ले स्वदेश तथा विदेशमा व्यापक सकारात्मक प्रतिक्रिया पाएको छ। छोटो समयमै युट्युब ट्रेन्डिङमा पर्न सफल ट्रेलरले हालसम्म करिब ८ लाख भ्युज प्राप्त गरिसकेको छ। यही उत्साहका कारण अन्य देशहरूबाट पनि चलचित्र प्रदर्शनका लागि निरन्तर माग आइरहेको निर्माता अधिकारीले बताए।
निर्देशक दिनेश राउत ले विशाल दर्शक उपस्थितिमा ट्रेलर सार्वजनिक हुनु आफूले देखेको सपना पूरा भएको अनुभूति भएको बताउँदै यही ऊर्जा अब सिनेमा हलसम्म पुग्ने विश्वास व्यक्त गरेका छन्।
चलचित्र ‘कुमारी’ बाट अबिषेक खड्का र आकृति राजभण्डारी ले मुख्य भूमिकामा डेब्यु गरेका छन्। उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मा लगायत कलाकारहरूको अभिनय रहेको छ।
विनिश इन्टरटेन्मेन्ट को ब्यानरमा निर्माण भएको चलचित्रको कथा तथा पटकथा विकास सुवेदी ले लेखेका हुन्। छायांकन सुसन प्रजापति, सम्पादन तथा कलर ग्रेडिङ सुप्रिम पराजुली र साउन्ड डिजाइन उत्तम न्यौपाने ले गरेका छन्। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन को रहेको छ भने कार्यकारी निर्माता केदार भुसाल हुन्।
चलचित्रका गीतहरू ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ यसअघि नै चर्चामा आइसकेका छन्। विशेषगरी ‘डोको बुन्ने’ गीतले ६० लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ। सबै गीतमा केहर सिंह लिम्बु को स्वर रहेको छ भने सङ्गीत सुमन तामाङ र शब्द सागर लामिछाने मगर तथा सुमन तामाङ को रहेको छ।
प्रेमकथामा सफल पहिचान बनाइसकेका निर्देशक दिनेश राउत सामाजिक विषयका चलचित्रपछि पुनः प्रेम कथामा फर्किएको ‘कुमारी’ ले स्वदेश तथा विदेशका दर्शकको मन जित्ने विश्वास निर्माण टिमले लिएको छ।


