काठमाडौं — निर्देशक दिनेश राउत को प्रतीक्षित चलचित्र ‘कुमारी’ यही माघ २३ गतेदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुँदैछ। प्रदर्शनको पूर्वसन्ध्यामा निर्देशक राउतले देशभरका थिएटर टेक्निसियन तथा प्रोजेक्सनिस्टहरूलाई पत्राचार गर्दै चलचित्रको ध्वनि गुणस्तर र प्राविधिक मापदण्डबारे जानकारी गराएका छन्।
चलचित्र ‘कुमारी’ लाई अत्याधुनिक इमर्सिभ फर्म्याट मा साउन्ड मिक्सिङ गरिएको निर्माण पक्षले जनाएको छ। दर्शकहरूले Dolby Atmos, DTS:X र AuroMax जस्ता उच्च प्रविधि जडित हलहरूमा उत्कृष्ट सिनेम्याटिक अनुभव लिन सकून् भन्ने उद्देश्यले चलचित्रको साउन्ड डिजाइन तयार गरिएको हो।
निर्देशक राउतका अनुसार चलचित्रको साउन्ड मिक्सिङ र मास्टरिङ साउन्ड प्रोसेसर फेडर युनिट ५.५ मा गरिएको छ। ध्वनिको ‘डाइनामिक्स’ सुरक्षित राख्दै दर्शकलाई वास्तविक र प्रभावकारी साउन्ड अनुभव दिनका लागि यही स्तरलाई आधार मानिएको उनले बताएका छन्।
निर्माण टोलीले प्रदर्शनपूर्व नै सिनेमा हलहरूमा ५.५ फेडर युनिटमा ट्रायल शो सम्पन्न गरिसकेको जनाएको छ। चलचित्रको प्रस्तुतीकरणमा कुनै कमी नआओस् भन्ने उद्देश्यले ५.५ भन्दा कम भोल्युम युनिटमा चलचित्र प्रदर्शन नगर्न अनुरोध गरिएको निर्देशक राउतले बताए। पत्रमा उल्लेख छ,
“हामीले रचनात्मक रूपमा ५.५ फेडर युनिटलाई आधार मानेर साउन्ड डिजाइन गरेका हौँ। दर्शकले उत्कृष्ट अनुभव प्राप्त गरून् भन्नका लागि व्यावसायिक प्रदर्शन अघि एक पटक अनिवार्य ‘टेस्ट रन’ गरिदिन आग्रह गर्दछौँ।”
उच्च प्राविधिक मापदण्डमा तयार पारिएको ‘कुमारी’ ले नेपाली चलचित्रको प्राविधिक स्तरलाई नयाँ उचाइ दिने विश्वास गरिएको छ। अबिषेक खड्का र आकृति राजभण्डारी को प्रमुख अभिनय रहेको तथा महेन्द्र अधिकारी को निर्माण रहेको यस चलचित्रप्रति दर्शक र प्रदर्शक दुवैमा उल्लेखनीय उत्साह देखिएको छ।


