काठमाडौं, फागुन ०७
पूर्वघोषित मितिमा चलचित्र ‘चमेलीको पोइ’ प्रदर्शन नहुने भएको छ। निर्देशक एभरेष्ट सूर्य बोहरा को निर्देशनमा तयार भएको यो फिल्म रामनवमी अर्थात् १३ चैतमा प्रदर्शन गर्ने तयारी भए पनि देशको वर्तमान राजनीतिक अवस्था तथा निर्वाचनको परिवेशलाई मध्यनजर गर्दै प्रदर्शन स्थगित गरिएको बिहीबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।
धन लक्ष्मी सिने मेकर्स को ब्यानरमा निर्माण भएको ‘चमेलीको पोइ’को नयाँ प्रदर्शन मिति छिट्टै तय गरिने निर्माण पक्षले जनाएको छ। प्रेस रिलिजसँगै जारी निर्माता रामनारायण उपाध्याय को भिडियो सन्देशमा निर्देशक बोहराको टिमले अत्यन्तै मिहिनेतका साथ समयमै फिल्म निर्माण सम्पन्न गरेकोमा आभार व्यक्त गरिएको छ। साथै, प्रदर्शनका लागि शान्तिपूर्ण माहौलको प्रतीक्षामा रहेको उल्लेख गरिएको छ।
निर्देशक बोहराकै कथामा आधारित फिल्ममा शिवम अधिकारी को पटकथा तथा शेरबहादुर तामाङ को छायांकन रहेको छ। निर्माता रूपमा सुनीता सापकोटा र रामनारायण उपाध्याय रहेका छन् भने कार्यकारी निर्मातामा उदयबिक्रम राणा, रितु मल्ल ठकुरी र कपिल आचार्य छन्। सह–निर्मातामा प्रदिपकुमार सापकोटा, यमप्रसाद ओली र सुदिप कुँवर रहेका छन्।
फिल्ममा नारायण त्रिपाठी, सुरक्षा पन्त, मुकुन भुसाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायत कलाकारहरूको अभिनय रहेको छ। वितरणको जिम्मा आरआर फिल्मस ले लिएको छ।निर्माण पक्षले चाँडै नै नयाँ प्रदर्शन मिति सार्वजनिक गर्ने जनाएको छ।


