काठमाडौं : नेपाली फिल्मका उदाउँदो अभिनेता हुन् गौरव बिष्ट। रंगमञ्चबाट आफूलाई स्थापित गरेका उनले फिल्म क्षेत्रमा पनि उल्लेखनीय फड्को मारिरहेका छन्। दुई वर्षअघि परस्त्री मार्फत डेब्यु गरेका गौरवको नयाँ फिल्म एक मुठी बादल अहिले प्रदर्शनको तयारीमा छ।
यस फिल्ममा उनी आँचल शर्मा लगायतका कलाकारसँग देखिँदैछन्। हालै सार्वजनिक भएको क्यारेक्टर पोस्टरमा गौरवको फरक अवतार देख्न सकिन्छ, जहाँ उनको वास्तविक जीवनको लुक र फिल्मी पात्रबीच स्पष्ट भिन्नता झल्किन्छ।
रोचक पक्ष के भने, यस भूमिकाका लागि उनले करिब ९ केजी तौल घटाएका छन्। पात्रमा पूर्ण रूपमा ढल्नका लागि उनले गरेको मेहनत ‘एक मुठी बादल’मा प्रस्ट देख्न पाइने विश्वास गरिएको छ। शारीरिक परिवर्तनसहित पात्रमा गहिरिएर काम गरेका गौरवको अभिनय दर्शकले कत्तिको मन पराउँछन् भन्ने कुरा भने फिल्म जेठ १ गतेबाट प्रदर्शनमा आएपछि मात्र स्पष्ट हुनेछ।


