काठमाडौं । नेपाली फिल्म क्षेत्रमा यतिबेला लालीबजार विवादमा तानिएको छ। फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्काले यसलाई आफ्नो करियरकै उत्कृष्ट काम भएको दाबी गरिरहेकै बेला ट्रेलर सार्वजनिक भएपछि बादी समुदायबाट आलोचना सुरु भएको हो।
बादी समुदायकी प्रतिनिधि डा. रोशनी नेपाली बादीले पत्रकार सम्मेलन गर्दै फिल्मको प्रदर्शन रोक्न माग गरेकी छन्। उनका अनुसार फिल्मले बादी समुदायलाई गलत र अनैतिक रूपमा चित्रण गरेको छ, जसले उनीहरूको सामाजिक प्रतिष्ठामा आघात पुर्याएको छ। उनले दलित आयोगमार्फत चलचित्र विकास बोर्डमा समेत पत्राचार गरिएको जानकारी दिएकी छन्।
डा. रोशनीले फिल्मको नाम र विषयवस्तु दुवैप्रति गम्भीर आपत्ति जनाउँदै “यसले हाम्रो चरित्र हत्या गरेको छ” भन्ने आरोप लगाएकी छन्। उनका अनुसार फिल्मका कारण देश–विदेशमा रहेका बादी युवाहरू मानसिक दबाबमा परेका छन्। उनले कुनै दृश्य काट्ने वा नाम परिवर्तन गर्ने मात्र नभई फिल्म नै पूर्ण रूपमा रोक्नुपर्ने माग राखेकी छन्।
यता, फिल्मका निर्माता रबिन्द्र सिंह बाँनियाले भने आरोप अस्वीकार गरेका छन्। उनले फिल्मले बादी समुदायको इतिहास र पीडालाई उजागर गर्ने उद्देश्य राखेको बताएका छन्। “हामीले समुदायका अगुवा र पीडितसँग प्रत्यक्ष संवाद गरेर सहमतिमा काम गरेका हौँ,” उनले भने, “यो व्यक्तिगत धारणा मात्र हो, अधिकांश समुदायका सदस्यहरू असहमत छन्।”
विवादबीच बादी समुदायभित्र नै दुई धार देखिएको छ। केहीले फिल्म रोक्नुपर्ने माग गरिरहेका छन् भने अन्यले आवश्यक परिमार्जनसहित प्रदर्शन गर्न दिनुपर्ने धारणा राखेका छन्। हिक्मत बादीका अनुसार पहाड र तराईका बादी समुदायबीच दृष्टिकोण फरक देखिएको छ। उनले फिल्मले ऐतिहासिक शोषण र पीडालाई देखाउन खोजेकाले पूर्ण रूपमा रोक्नु उपयुक्त नहुने बताएका छन्।
त्यस्तै, समुदायकी अर्की प्रतिनिधि हेना देवीसरा बादीले सुरुवातमा ट्रेलरप्रति आपत्ति भए पनि फिल्म हेरेपछि आफ्नो धारणा केही परिवर्तन भएको बताएकी छन्। उनका अनुसार फिल्मले विगतको बाध्यात्मक अवस्थालाई प्रस्तुत गरेको छ र समुदायको आवाज राज्यसम्म पुर्याउन सहयोग गर्न सक्छ।
निर्देशक यम थापाको निर्देशनमा बनेको ‘लालीबजार’मा स्वस्तिमा खड्का, रबिन्द्र सिंह बाँनिया, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ। फिल्म आगामी १८ गते शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ।
बादी समुदायको संवेदनशील विषय उठाएकाले ‘लालीबजार’ अहिले बहसको केन्द्रमा छ। फिल्मले सामाजिक यथार्थ उजागर गरेको हो वा समुदायको छवि बिगारेको हो भन्ने विषयमा बहस अझै जारी रहने देखिन्छ।


