काठमाडौं । नेपाली चलचित्र बा : एक योद्धाको आधिकारिक प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षका अनुसार फिल्म आगामी भदौ १९ गतेदेखि देशभरका सिनेमाघरमा एकसाथ प्रदर्शनमा आउने भएको हो।
हरि लम्सालको निर्देशनमा निर्माण भएको यस चलचित्रलाई कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा ल्याउने तयारी गरिएको निर्माण टिमले जनाएको छ। नेपाली संगीत क्षेत्रमा स्थापित लम्सालले यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका हुन्।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा र पटकथा पनि लम्साल आफैंले तयार पारेका हुन्। चलचित्रका निर्माता वसन्त लम्साल हुन्।
फिल्ममा झरना थापा, सुहाना थापा र दिव्यदेव पन्त मुख्य भूमिकामा देखिनेछन्। झरना र सुहानाले पहिलो पटक एउटै फिल्ममा आमाछोरीको भूमिकामा अभिनय गर्न लागेका हुन्, जुन दर्शकका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।
‘बा : एक योद्धा’ले नेपाली समाजमा बुवाको भूमिकालाई केन्द्रमा राख्दै सन्तानका लागि उनले गर्ने त्याग, संघर्ष र जिम्मेवारीलाई प्रस्तुत गर्नेछ। सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित यो फिल्मले भावनात्मक रूपमा दर्शकलाई जोड्ने विश्वास निर्माण पक्षले लिएको छ।
फिल्ममा शिवराम श्रेष्ठको छायांकन रहेको छ, जसले यसअघि ‘पूर्ण बहादुरको सारङ्गी’, ‘बोक्सीको घर’ र ‘परान’ जस्ता सफल चलचित्रमा काम गरिसकेका छन्।
गत चैत्र ९ गतेदेखि छायांकन सुरु भएको फिल्मले सुरुदेखि नै कलाकारबारे ‘सस्पेन्स’ कायम राख्दै आएको थियो। अहिले मुख्य कलाकार सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको चासो झनै बढेको छ।
आर्टिस्टिक इन्टरटेनमेन्टले यसअघि पनि स्तरीय प्रोजेक्टहरू निर्माण गर्दै आएकोले ‘बा : एक योद्धा’बाट दर्शकलाई भावनात्मक र सन्देशमूलक सिनेमा दिने अपेक्षा गरिएको छ।


