काठमाडौं । नेपाली फिल्म मितज्यूले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय सफलता हासिल गरेको छ। जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्म हालसम्म हङकङ, जापान, दक्षिण कोरिया, माल्टा, सिंगापुर र पोल्याण्ड गरी ६ देशमा प्रदर्शन अधिकार बिक्री गर्न सफल भएको निर्माण पक्षले जनाएको छ।
निर्माता जनक घर्ती मगरका अनुसार हङकङमा पाथिभरा इन्टरटेनमेन्ट, जापानमा वाउ इन्टरटेनमेन्ट, दक्षिण कोरियामा नेपाल मगर संघ, माल्टामा नेप फाइभ इन्टरटेनमेन्ट र पोल्याण्डमा सोल्टी इभेन्टले प्रदर्शन अधिकार खरिद गरेका छन्। अन्य देशहरूसँग पनि प्रदर्शनबारे छलफल जारी रहेको बताइएको छ।
फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा दर्शकमाझ यसको उत्सुकता अझ बढ्दो छ। फिल्ममा दयाहाङ राई, सौगात मल्ल र अन्तर्राष्ट्रिय रूपमा चर्चित नृत्यांगना तेरिया फौजा मगरको मुख्य भूमिका रहेको छ। अभिनेत्रीका रूपमा तेरियाको डेब्यु भएकाले पनि फिल्म प्रारम्भदेखि नै चर्चामा छ।
फिल्मका सार्वजनिक गीतहरू ‘गैराघरे काँइली’ र ‘भुनभुन माहुरी’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएका छन्। गीत, टिजर र प्रचार सामग्रीले छोटो समयमै राम्रो चर्चा बटुल्न सफल भएको निर्माण पक्षको दाबी छ।
ग्रामीण परिवेशमा आधारित फिल्ममा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा लगायत कलाकारहरूको पनि अभिनय रहेको छ। निर्देशक अनिल बुढा मगरको निर्देशनमा बनेको फिल्मको सम्पादन लोकेश बज्राचार्यले गरेका हुन् भने छायांकन शिशिर बिशंखेको रहेको छ।
आरआर फिल्म्सले वितरण गर्ने यस फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरिसकेको छ। ‘मितज्यू’ आगामी जेठ ८ गतेदेखि नेपालभर प्रदर्शनमा आउनेछ।
विदेशी बजारमा बढ्दो माग र बलियो कलाकार संयोजनका कारण ‘मितज्यू’ नेपाली फिल्म क्षेत्रको अर्को सम्भावनाशील परियोजनाका रूपमा हेरिएको छ।


