काठमाडौं — निर्माणाधीन नेपाली चलचित्र ‘महाराजधिराज’मा अभिनेता सुशील सिटौला अनुबन्ध भएका छन्। केही दिनअघि अभिनेत्री पूजा शर्मालाई भित्र्याएको निर्माण टिमले अब सुशीललाई पनि प्रमुख भूमिकामध्ये एकका लागि अनुबन्ध गरेको हो।
निर्माण पक्षका अनुसार, सुशीलले फिल्ममा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्। नेपाली चलचित्र क्षेत्रमा आफ्नो अभिनय क्षमता देखाइसकेका उनी अझै पनि अपेक्षाकृत कम मूल्यांकन गरिएका कलाकारका रूपमा चिनिन्छन्।
यसअघि नै अभिनेता पुष्प खड्का मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन् भने कलाकार चयन प्रक्रिया अन्तिम चरणमा पुग्दा फिल्मको लाइनअप झन् सशक्त बन्दै गएको छ। पिरियड ड्रामाको झल्को दिने ‘महाराजधिराज’ वैशाखको दोस्रो सातापछि छायांकनमा जाने तयारीमा रहेको जनाइएको छ।
निर्देशक परिच्छेद सेनको ड्रीम प्रोजेक्टका रूपमा रहेको यस फिल्ममा केकी अधिकारी, हेमन्त बुढाथोकी, नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट र आशा पौडेललगायतका कलाकारको पनि अभिनय रहनेछ। फिल्ममा पुराना र नयाँ पुस्ताका गरी करिब ८० जना कलाकार रहने निर्माण टिमले जनाएको छ।
प्रस्तुतकर्ता विराज विष्टले बलियो कलाकार चयनसँगै फिल्म पनि उत्तिकै प्रभावशाली बन्ने विश्वास व्यक्त गरेका छन्।
‘महाराजधिराज’को छायांकन सुनसरीस्थित श्रीलंका टापुबाट सुरु हुने र त्यसपछि काठमाडौं, भक्तपुर तथा कीर्तिपुरका ऐतिहासिक स्थानहरूमा खिचिनेछ। छायांकनको जिम्मा नवराज थापाले सम्हाल्नेछन्।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको कथा तथा निर्देशन स्वयं सेनले गरेका हुन्। फिल्मका निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट रहेका छन्।
निर्माण टिमले फिल्मलाई आगामी फूलपातीको अवसर पारेर प्रदर्शन गर्ने लक्ष्य राखेको छ।


