चितवन — नेपाली चलचित्र ‘मालती मंगले’ यही वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। प्रदर्शनको पूर्वसन्ध्यामा फिल्मको टिम प्रचारप्रसारका लागि चितवन पुगेको छ।
गायक तथा निर्माता रामकृष्ण ढकालले पहिलो पटक चलचित्रमा लगानी गरेका हुन्। उनले फिल्मलाई मिठो प्रेमकथामा आधारित रहेको बताउँदै श्रीमान–श्रीमतीबीचको सम्बन्ध, उतारचढाव र प्रेमलाई मुख्य विषयवस्तु बनाइएको जानकारी दिए।
फिल्ममा वर्षा राउत ‘मालती’ र विजय बराल ‘मंगले’को भूमिकामा देखिएका छन्। कमेडियन मेक्सम गौडेलको ‘हरि होइन, हुरी हो’ भन्ने संवादले फिल्ममा थप मनोरञ्जन दिने अपेक्षा गरिएको छ।
प्रकु पाण्डेयको निर्देशनमा बनेको यस फिल्मलाई रानी फिल्म्सको ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण गरिएको हो। फिल्मको कथा निर्देशक पाण्डेयकै रहेको छ भने पटकथा तथा संवाद संयोग गुरागाईंले तयार पारेका हुन्।
फिल्ममा नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरुङ र सागर भट्टराईलगायत कलाकारहरूको पनि अभिनय रहेको छ।
कार्यकारी निर्माता सागर ज्ञवाली रहेका छन् भने बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईं सह–निर्माताका रूपमा रहेका छन्।
प्राविधिक पक्षमा महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रंग संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ। हर्क साउदको शब्द, एसडी योगीको संगीत र रिकेश गुरुङको एरेन्जमा तयार गीतहरूको भिडियो कोरियोग्राफी रोशन विकले गरेका छन्।


