काठमाडौं — चलचित्र ‘महाराजधिराज’को मंगलबार बिहान भव्य शुभमुहूर्त गरिएको छ। काठमाडौँस्थित बंगलामुखी मन्दिरमा शङ्ख धुन र पञ्चेबाजासहित गरिएको मुहूर्त कार्यक्रममा फिल्मका मुख्य कलाकार तथा निर्माण टिमको उपस्थिति रहेको थियो।
बिहान ८ बजे सुरु भएको पूजाअर्चना ११ः११ बजेसम्म चलेको थियो। कार्यक्रममा पुष्प खड्का, पूजा शर्मा, उषा रजक, आर्यन सिक्देललगायत कलाकार सहभागी भएका थिए।

निर्देशक परिच्छेद सेनको ड्रीम प्रोजेक्टका रूपमा रहेको यो फिल्म सोसल पिरियड ड्रामा जनरामा निर्माण हुँदैछ। लामो समयदेखि स्क्रिप्टमा काम गरेका निर्देशक सेनले फिल्मलाई फरक स्वादमा प्रस्तुत गर्ने बताएका छन्।
फिल्मको छायांकन यही २५ गतेबाट सुनसरीको श्रीलंका टापुबाट सुरु हुने छ। त्यहाँ एक हप्ता छायांकन गरिएपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक स्थानहरूमा करिब ७० दिन छायांकन गरिनेछ। फिल्मको छायांकन नबराज थापाले गर्नेछन्।

फिल्ममा रमेश उप्रेती, केकी अधिकारी, नीर शाह, जयकिशन बस्नेत, गजित बिष्टलगायतका अनुभवी तथा नयाँ कलाकारको ठूलो टोली रहनेछ। करिब ८० जना कलाकार सहभागी हुने यो फिल्ममा पुराना र नयाँ पुस्ताको संयोजन देखिने निर्माण टिमले जनाएको छ।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता विराज विष्ट हुन्। निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट रहेका छन्। फिल्मको कथा तथा लेखन निर्देशक सेन स्वयंले गरेका हुन्।
निर्माण टिमका अनुसार ‘महाराजधिराज’ आगामी फूलपातीमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।


