काठमाडौं, वैशाख २५ । नेपाली फिल्म उद्योगमा आजदेखि ठूलो प्रतिस्पर्धा सुरु भएको छ। फ्राइडे रिलिज अन्तर्गत तीन नेपाली फिल्म एकैसाथ प्रदर्शनमा आएका छन्।
आजबाट देशभर ‘लालीबजार’, ‘मालती मंगले’ र ‘गुरु आमा’ प्रदर्शनमा आएका हुन्। फरक–फरक विषयवस्तु बोकेका यी तीनै फिल्मले दर्शकमाझ आफ्नो स्थान बनाउने प्रयास गरिरहेका छन्।
यस साता विशेष चर्चा भने ‘लालीबजार’ र ‘मालती मंगले’को प्रतिस्पर्धालाई लिएर भइरहेको छ। अदालतको आदेशपछि अन्तिम समयमा प्रदर्शनको बाटो खुलेको ‘लालीबजार’ले प्रिमियरबाट सकारात्मक प्रतिक्रिया पाएको थियो। सामाजिक कथावस्तुमा आधारित फिल्ममा अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ।
उता, गायक रामकृष्ण ढकालको निर्माण रहेको ‘मालती मंगले’ले पनि प्रिमियर शोपछि राम्रो प्रतिक्रिया बटुलेको छ। विजय बराल र वर्षा राउत अभिनित फिल्मले पारिवारिक सम्बन्ध र भावनात्मक कथालाई उठाएको छ।
यस्तै, मिथिला शर्माको ‘गुरु आमा’ पनि आजैदेखि प्रदर्शनमा आएको छ। शिक्षक–विद्यार्थी सम्बन्ध र सामाजिक सन्देश बोकेको कथावस्तुका कारण फिल्मले फरक दर्शक तान्ने अपेक्षा गरिएको छ।
सिनेमा हलहरूले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार ‘लालीबजार’ले सबैभन्दा धेरै शो पाएको छ भने त्यसपछि ‘मालती मंगले’ र ‘गुरु आमा’ रहेका छन्।
एकैसाथ तीन नेपाली फिल्म प्रदर्शनमा आउँदा यस साताको बक्स अफिस प्रतिस्पर्धात्मक बन्ने देखिएको छ। नेपाली फिल्मप्रति दर्शकको आकर्षण बढिरहेका बेला यो भिडन्तलाई उद्योगले चासोका साथ हेरेको छ।


