काठमाडौं, जेठ ११
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो आधिकारिक बक्सअफिस विवरणअनुसार प्रदर्शनरत नेपाली चलचित्रमध्ये ‘लालीबजार’ सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ। बोर्डले सोमबार सार्वजनिक गरेको सिनेपाः बक्सअफिस तथ्यांकमा उक्त चलचित्रले सबैभन्दा बढी व्यापार गरेको देखिएको हो।
वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको ‘लालीबजार’ले हालसम्म ५ करोड ७६ लाख ३१ हजार ४७१ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। चलचित्रका १ लाख ९६ हजार ४०६ टिकट बिक्री भएका छन्।
त्यसैगरी वैशाख ११ गते रिलिज भएको ‘परालको आगो’ ले पनि उत्साहजनक व्यापार गर्दै ४ करोड २७ लाख ५३ हजार ६४५ रुपैयाँ आम्दानी गरेको छ। यो चलचित्रका १ लाख ५३ हजार ९२५ टिकट बिक्री भएका छन्।
यता, वैशाख २५ गते प्रदर्शनमा आएका अन्य दुई चलचित्रमध्ये ‘मालती मंगले’ ले ५१ लाख ६३ हजार ५९३ रुपैयाँ कमाउँदा १६ हजार १३७ टिकट बिक्री गरेको छ। सोही मितिमा रिलिज भएको ‘गुरूआमा’ ले २९ लाख ४२ हजार ५७६ रुपैयाँ व्यापार गर्दै ९ हजार ३२७ टिकट बिक्री गर्न सफल भएको छ।
जेठ १ गते एकसाथ प्रदर्शनमा आएका ‘लाइफ ड्यामेज’ र ‘एक मुठ्ठी बादल’ को व्यापार भने अपेक्षाकृत कमजोर देखिएको छ। ‘लाइफ ड्यामेज’ले २८ लाख ४६ हजार १७० रुपैयाँ ग्रस आम्दानी गरेको छ भने यसको ९ हजार २४१ टिकट बिक्री भएका छन्।
त्यस्तै, ‘एक मुठ्ठी बादल’ ले हालसम्म ५ लाख २१ हजार ८२५ रुपैयाँ मात्र कमाएको छ। चलचित्रका १ हजार ५०१ टिकट बिक्री भएको बोर्डको तथ्यांकमा उल्लेख छ। यी दुवै चलचित्रको आधिकारिक बक्सअफिस रिपोर्ट पहिलोपटक सार्वजनिक गरिएको हो।
चलचित्र विकास बोर्डले सिनेपाः प्रणालीमार्फत संकलित व्यापार विवरण हरेक सोमबार सार्वजनिक गर्दै आएको छ। गत शुक्रबारदेखि प्रदर्शनमा आएका ‘मितज्यू’ र ‘काजी’ को बक्सअफिस विवरण भने आगामी सोमबार सार्वजनिक गरिने बोर्डले जनाएको छ।


