काठमाडौं । नेपाली फिल्म ‘लालीबजार’ले प्रदर्शनको तीन सातामै घरेलु बक्सअफिसमा ७ करोड ५३ लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको फिल्म हाल चौथो सातामा प्रवेश गरिसकेको छ ।
फिल्मले चौथो सातासम्म पनि दर्शकको राम्रो साथ पाइरहेको छ । प्रदर्शनको २३औँ दिन शनिबार देशभर १ सय ९२ शो प्राप्त गरेको फिल्मले पहिलो दिनभन्दा अझ बढी शो पाउन सफल भएको छ । प्रदर्शनको पहिलो दिन फिल्मले १ सय ८० शो पाएको थियो ।
निर्माण टिमका अनुसार चौथो साताको शनिबार अधिकांश हलमा दर्शकको उल्लेखनीय उपस्थिति देखिएको छ । सकारात्मक ‘वर्ड अफ माउथ’ र पारिवारिक कथावस्तुका कारण फिल्मप्रति दर्शकको आकर्षण निरन्तर बढिरहेको जनाइएको छ ।
निर्देशक यम थापाको लेखन तथा निर्देशनमा बनेको ‘लालीबजार’मा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, विशाल देवकोटा, प्रशंसा सुवेदी, समाइरा थापा, मुकुन्द श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ ।
षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता म्याक्स दीपेश खत्री हुन् भने प्रदीप भट्टराई कार्यकारी निर्माताका रूपमा रहेका छन् । आमा–छोरीको सम्बन्ध, संघर्ष र शिक्षाको महत्वलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ ।


