काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ को उद्घाटन खेलमा आयोजक राष्ट्र मेक्सिकोले विजयी सुरुआत गरेको छ । मेक्सिको सिटीस्थित रङ्गशालामा भएको पहिलो खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई २–० गोल अन्तरले पराजित गरेको हो ।
मेक्सिकोको जितमा जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक–एक गोल गरे । खेलको नवौँ मिनेटमै जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुआती अग्रता दिलाएका थिए । इरिक लिराको पासलाई सदुपयोग गर्दै उनले बललाई जाली चुमाएका हुन् ।
दोस्रो हाफमा दक्षिण अफ्रिका थप दबाबमा परेको थियो । खेलको ४९औँ मिनेटमा सेफेलो सिथोल रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि दक्षिण अफ्रिका १० खेलाडीमा सीमित भयो ।
त्यसको फाइदा उठाउँदै मेक्सिकोले खेलको ६७औँ मिनेटमा अग्रता दोब्बर बनायो । राउल जिमेनेजले गोल गर्दै घरेलु टोलीलाई बलियो अवस्थामा पुर्याए ।
खेलको ८४औँ मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले पनि रातो कार्ड पाएपछि टोली नौ खेलाडीमा सीमित भयो । यता, खेलको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले रातो कार्ड पाए ।
उद्घाटन खेलमै तीन खेलाडीले रातो कार्ड पाएको खेलमा मेक्सिकोले महत्वपूर्ण तीन अङ्क हात पारेको छ । समूह ‘ए’मा रहेको मेक्सिको शीर्ष स्थानमा पुगेको छ ।
समूह ‘ए’ अन्तर्गत आज हुने अर्को खेलमा चेक रिपब्लिक र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ७ः४५ बजे सुरु हुनेछ ।


