तपाईको प्रतिक्रिया
काठमाडौं । फिफा विश्वकप २०२६ मा स्विडेनले विजयी सुरुआत गरेको छ। समूह ‘एफ’ अन्तर्गत आइतबार मोन्टेरेमा सम्पन्न खेलमा ट्युनिसियालाई ५–१ गोलअन्तरले पराजित गर्दै स्विडेनले तीन अंक बटुलेको हो।
स्विडेनको जितमा यासिन आयारीले दुई गोल गरे भने अलेक्जान्डर इसाक, भिक्टर ग्योकेरेस र माटियास स्वानबर्गले समान एक–एक गोल थपे।
खेलको सातौं मिनेटमै आयारीले लामो दूरीबाट आकर्षक गोल गर्दै स्विडेनलाई अग्रता दिलाएका थिए। त्यसपछि ३०औं मिनेटमा ग्योकेरेसको पासमा इसाकले गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए।
पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा ओमार रेकीकले हेडरमार्फत गोल गर्दै ट्युनिसियालाई खेलमा फर्काउने प्रयास गरे। तर दोस्रो हाफमा स्विडेनले खेलमाथिको नियन्त्रण कायम राख्दै थप तीन गोल गर्यो।
५९औं मिनेटमा ट्युनिसियाका एलियस स्क्हिरीको गल्तीको फाइदा उठाउँदै ग्योकेरेसले गोल गरे। त्यसपछि ८४औं मिनेटमा स्वानबर्गले गोल थपे भने इन्जुरी समयमा आयारीले व्यक्तिगत दोस्रो गोल गर्दै स्विडेनको फराकिलो जित सुनिश्चित गरे।
यो जितसँगै स्विडेन समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको छ। सोही समूहको अर्को खेलमा जापान र नेदरल्यान्ड्सले २–२ गोलको बराबरी खेलेका थिए।
