काठमाडौं, आषाढ ०३
किलियन एमबाप्पेको शानदार प्रदर्शनमा फ्रान्सले फिफा विश्वकप २०२६ को यात्रा विजयी रूपमा सुरु गरेको छ। समूह चरणको पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो।
पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको थियो। सेनेगलले केही राम्रा अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेन। विशेषगरी निकोलस ज्याक्सनको प्रहार पोस्टमा लागेर फर्किँदा फ्रान्स दबाबमा परेको थियो।
दोस्रो हाफमा भने फ्रान्सले आफ्नो स्तरअनुसारको खेल प्रस्तुत गर्यो। खेलको ६६औँ मिनेटमा माइकल ओलिसेको पासमा एमबाप्पेले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए। उनले सेनेगलका कप्तान कालिदु कुलिबालीलाई छल्दै गोलरक्षक एडुआर्ड मेन्डीलाई पराजित गरेका थिए।
खेलको ८४औँ मिनेटमा वैकल्पिक खेलाडी ब्राड्ली बार्कोलाले गोल थप्दै फ्रान्सको अग्रता २–० बनाए।
इन्जुरी समयमा इब्राहिम एमबायेले गोल गर्दै सेनेगललाई आशा दिलाए पनि त्यो धेरै समय टिकेन। गोल खाएको झन्डै एक मिनेटपछि नै एमबाप्पेले करिब ३० यार्ड टाढाबाट शक्तिशाली प्रहार गर्दै व्यक्तिगत दोस्रो तथा फ्रान्सका लागि तेस्रो गोल गरे।
एमबाप्पेको दुई गोलसँगै फ्रान्सले सहज जित निकाल्यो भने उनले विश्वकपमा आफ्नो गोल संख्या १४ पुर्याएका छन्। यससँगै उनी विश्वकप इतिहासका सर्वाधिक गोलकर्ताको सूचीमा थप माथि उक्लिएका छन्। साथै, फ्रान्सका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा दर्ज गरेका छन्।
लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने लक्ष्यसहित मैदानमा उत्रिएको फ्रान्सका लागि यो जित आत्मविश्वास बढाउने नतिजा बनेको छ।


