काठमाडौं । मोरक्कोले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा लगातार प्रभावशाली प्रदर्शन गर्दै स्कटल्यान्डलाई १–० ले पराजित गरेको छ। यस जितसँगै मोरक्को समूहको शीर्ष स्थानमा पुगेको छ।
बोस्टन स्टेडियममा शनिबार बिहान सम्पन्न खेलको सुरुआतमै मोरक्कोले अग्रता लिएको थियो। खेलको दोस्रो मिनेटमा इस्माइल साइबारीले ब्राहिम डियाजको उत्कृष्ट पासलाई सदुपयोग गर्दै गोल गरे। त्यही गोल अन्ततः खेलको निर्णायक बन्यो।
अग्रता लिएपछि मोरक्कोले खेलमा संयमित प्रदर्शन गर्यो भने स्कटल्यान्डले बराबरी गोलका लागि लगातार प्रयास गरेको थियो। तर, मोरक्कोको सुदृढ रक्षापंक्तिका कारण स्कटल्यान्डले अवसरलाई गोलमा परिणत गर्न सकेन।
महत्त्वपूर्ण जितसँगै मोरक्कोले दुई खेलबाट चार अंक जोडेको छ। पहिलो खेलमा ब्राजिलसँग बराबरी खेलेको मोरक्को अहिले गोलअन्तरका आधारमा समूहको शीर्ष स्थानमा रहेको छ।
यता, स्कटल्यान्डले भने पहिलो खेलमा हाइटीलाई हराए पनि दोस्रो खेलमा हार बेहोर्दै तीन अंकमै सीमित भएको छ। स्कटल्यान्ड हाल दोस्रो स्थानमा छ।
समूह ‘सी’ मा एक खेल खेलेको ब्राजिल एक अंकसहित तेस्रो स्थानमा छ भने हाइटी अंकविहीन रहँदै चौथो स्थानमा रहेको छ। ब्राजिल र हाइटीबीचको खेल जारी रहेकाले समूहको समीकरण थप रोचक बनेको छ।
मोरक्कोको यो जितले नकआउट चरणतर्फको यात्रा सहज बनाएको छ भने अन्तिम समूह चरणको खेलअघि टोलीको आत्मविश्वास पनि उच्च बनेको छ।


