काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘एच’ मा डेब्युट्यान्ट टोली केप भर्डेले अर्को प्रभावशाली प्रदर्शन गर्दै दुई पटकको विश्वविजेता उरुग्वेलाई २–२ को बराबरीमा रोक्न सफल भएको छ।
मियामीमा सम्पन्न खेलमा केप भर्डेले साहसी र अनुशासित खेल प्रस्तुत गर्दै बलियो प्रतिद्वन्द्वीविरुद्ध महत्वपूर्ण एक अंक बटुल्यो। यसअघि स्पेनसँग बराबरी खेलेको टोलीले विश्व फुटबलका स्थापित राष्ट्रहरूलाई चुनौती दिन सक्ने क्षमता पुनः प्रमाणित गरेको छ।
खेलको २१औँ मिनेटमा केभिन पिनाले गोल गर्दै केप भर्डेलाई अग्रता दिलाएका थिए। सुरुआती झट्कापछि उरुग्वेले खेलमा पुनरागमन गर्दै पहिलो हाफको अन्त्यतिर दुई गोल गर्यो।
४४औँ मिनेटमा माक्सी आराउजोले बराबरी गोल फर्काए भने इन्जुरी समयको छैटौँ मिनेटमा अगस्टिन कानोबियोले गोल गर्दै उरुग्वेलाई २–१ को अग्रता दिलाए।
दोस्रो हाफमा केप भर्डे फेरि खेलमा फर्कियो। ६१औँ मिनेटमा मैदान प्रवेश गरेका हेलियो वारेलाले केही मिनेटमै उत्कृष्ट गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्याए।
त्यसपछि दुवै टोलीले विजयी गोलका लागि प्रयास गरे। उरुग्वेका डार्विन नुनेज र फेडेरिको भाल्भर्डेले अवसर सिर्जना गरे पनि केप भर्डेका गोलकिपर भोजिन्हा र रक्षापंक्तिले मजबुत प्रदर्शन गरे।
अन्तिम समयमा वारेलाले केप भर्डेलाई ऐतिहासिक जित दिलाउने अवसर पाए पनि उरुग्वेका रोद्रिगो बेन्टानकुरले निर्णायक ट्याकल गर्दै खतरा टारे।
यो नतिजासँगै दुवै टोलीले दुई खेलबाट समान २ अंक जोडेका छन्। समूह ‘एच’ मा नकआउट चरणको प्रतिस्पर्धा अन्तिम खेलसम्म खुला बनेको छ।
अब उरुग्वेले अन्तिम खेलमा स्पेनको सामना गर्नेछ भने केप भर्डेले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ।


