काठमाडौं । कप्तान लिओनल मेसीको दुई गोलको प्रेरणामा साबिक विजेता अर्जेन्टिनाले फिफा विश्वकपमा अस्ट्रियालाई २–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
सोमबार सम्पन्न खेलमा मेसीले विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गर्दै आफ्नो कुल गोल संख्या १८ पुर्याए। यससँगै उनले विश्वकपका सर्वाधिक गोलकर्तामध्ये आफ्नो अग्रता थप मजबुत बनाएका छन्।
खेलको सुरुआतमै अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो। नवौं मिनेटमा पेनाल्टी प्रहारका लागि अघि बढेका मेसीले बललाई पोस्टबाहिर प्रहार गरेपछि टोली अग्रता लिनबाट वञ्चित भएको थियो।
तर, अर्जेन्टिनाका कप्तानले धेरै समय कुर्नु परेन। पहिलो हाफको मध्यतिर थियागो अल्माडा र फाकुन्डो मेडिनाको उत्कृष्ट संयोजनपछि आएको बललाई मेसीले सहज रूपमा गोलमा परिणत गर्दै टोलीलाई १–० को अग्रता दिलाए।
पहिलो हाफको इन्जुरी समयमा मेसीले व्यक्तिगत दोस्रो गोल थपेपछि अर्जेन्टिनाले खेलमा बलियो पकड बनाएको थियो। त्यसपछि अस्ट्रियाले खेलमा फर्किने प्रयास गरे पनि अर्जेन्टिनाको सुदृढ रक्षापंक्तिलाई भेद्न सकेन।
यो गोलसँगै मेसीले विश्वकपमा आफ्नो कुल गोल संख्या १८ पुर्याउँदै जर्मनीका महान् स्ट्राइकर मिरोस्लाभ क्लोजेलाई दुई गोलले पछि पारे।
मेसीको ऐतिहासिक उपलब्धि र अर्जेन्टिनाको लगातार उत्कृष्ट प्रदर्शनसँगै नकआउट प्रवेश गरेको छ।


