काठमाडौं । आगामी भदौ १९ गते प्रदर्शनमा आउने चलचित्र ‘बा : एक योद्धा’मा अभिनेता अनिल बुढाथोकीको पनि महत्वपूर्ण भूमिका रहने भएको छ। निर्माण टिमले विस्तारै कलाकार सार्वजनिक गर्ने क्रममा अनिल चलचित्रका मुख्य कलाकारमध्ये एक रहेको जनाएको हो।
चलचित्र ‘कर्मा’बाट अभिनय यात्राको सुरुवात गरेका अनिलले पहिलो चलचित्रबाटै दर्शकको ध्यान खिचेका थिए। ‘कर्मा’मा उनले अभिनेता विपिन कार्कीपछि दोस्रो प्रमुख भूमिकामा अभिनय गरेका थिए। चलचित्रले बक्स अफिसमा अपेक्षित सफलता हासिल गर्न नसके पनि अनिलको अभिनयले भने प्रशंसा पाएको थियो।
‘बा : एक योद्धा’ अनिलको करिअरको दोस्रो चलचित्र हो। चलचित्रबारे उनले पहिलो फिल्मबाट प्राप्त माया र समर्थनलाई यसपटक पनि निरन्तरता मिल्ने अपेक्षा व्यक्त गरेका छन्। उनले अघिल्लो अनुभवबाट सिक्दै अभिनयमा थप परिपक्वता ल्याउने प्रयास गरेको बताए।
हरि लम्सालको लेखन तथा निर्देशनमा निर्माण भएको ‘बा : एक योद्धा’ले नेपाली परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने कठिनाइहरूको कथा प्रस्तुत गर्नेछ।
चलचित्रमा अनिलसँगै दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, सागर खनाल, शिशिर शिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको अभिनय रहेको छ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता वसन्त लम्साल हुन्। नेपाली संगीत क्षेत्रमा चर्चित नाम बनाएका हरि लम्सालका लागि यो पहिलो फिचर फिल्म निर्देशन हो। चलचित्रको कथा, पटकथा र निर्देशन उनले स्वयं गरेका छन्।
शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रमा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकका रूपमा रहेका छन्। ‘बा : एक योद्धा’लाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले देशभर वितरण गर्नेछ।
कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको यस चलचित्रले बुवा र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर कथा प्रस्तुत गर्ने निर्माण पक्षको विश्वास छ।


