काठमाडौं : जुड बेलिङ्घम र ह्यारी केनको उत्कृष्ट प्रदर्शनमा इङ्गल्याण्डले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’को अन्तिम खेलमा पानामालाई २–० ले पराजित गर्दै समूह विजेताका रूपमा नकआउट चरण (राउन्ड अफ ३२) मा स्थान सुरक्षित गरेको छ।
न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा सम्पन्न खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा इङ्गल्याण्डले आफ्नो लय समात्दै दुई गोल गर्यो।
खेलको ६२औँ मिनेटमा बुकायो साकाले प्रहार गरेको कर्नरलाई जुड बेलिङ्घमले डिफेन्डरको दबाबबीच उत्कृष्ट भलीमार्फत गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको पाँच मिनेटपछि बेलिङ्घमकै आकर्षक क्रसमा कप्तान ह्यारी केनले हेडमार्फत दोस्रो गोल गर्दै इङ्गल्याण्डको जित सुनिश्चित गरे।
योसँगै केनले विश्वकपमा आफ्नो कुल गोल संख्या ११ पुर्याउँदै इङ्गल्याण्डका लागि विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बने। उनले १० गोलका साथ शीर्ष स्थानमा रहेका ग्यारी लिनेकरको कीर्तिमानलाई पछि पारे।
यसअघि घानासँग बराबरी खेलेपछि प्रशिक्षक थोमस टुचेलले टोलीमा पाँच परिवर्तन गरेका थिए। मोर्गन रोजर्स, मार्कस रासफोर्ड र बुकायो साकालाई सुरुआती रोजाइमा उतारिएको थियो। पहिलो हाफमा रासफोर्डले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि पानामाका गोलरक्षक ओर्लान्डो मस्कवेराले उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा टिकाइराखेका थिए।
यद्यपि दोस्रो हाफमा इङ्गल्याण्डको आक्रमण रोक्न पानामा असफल रह्यो। लगातार दोस्रो जित निकालेको इङ्गल्याण्ड समूहको शीर्ष स्थानमा रहँदै अन्तिम ३२ मा पुगेको हो।
उता, लगातार तेस्रो हार बेहोरेको पानामा अंक र गोल दुवैविहीन रहँदै विश्वकपबाट बाहिरिएको छ। अब इङ्गल्याण्डले आगामी जुलाई १ मा एटलान्टामा हुने राउन्ड अफ ३२ को खेलमा समूह ई, एच, आई, जे वा केमध्ये कुनै एक समूहको तेस्रो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ।


