काठमाडौं । निर्देशक माओत्से गुरुङको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘पेन्सन पट्टा’को पहिलो झलक (फर्स्ट लुक) सार्वजनिक गरिएको छ। असार १५ को अवसर पारेर निर्माण टिमले चलचित्रका तीन आकर्षक पोस्टर सार्वजनिक गर्दै आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने घोषणा गरेको हो।
सार्वजनिक पोस्टरहरूले चलचित्रको कथावस्तु, पात्रहरूको जीवन, संघर्ष, प्रेम, परिवार र ग्रामीण परिवेशलाई कलात्मक शैलीमा प्रस्तुत गरेका छन्। पोस्टर हेर्दा नै चलचित्रले नेपाली समाजको यथार्थ र मानवीय सम्बन्धको गहिरो कथा बोकेको आभास हुन्छ।
पहिलो पोस्टरमा अभिनेता दयाहाङ राई र अभिनेत्री गौमाया गुरुङ गाउँको परिवेशमा देखिएका छन्। गौमायाको काखमा रहेको पाठो र दयाहाङको भावुक अनुहारले ग्रामीण जीवनको सरलता, आत्मीयता र मानवीय संवेदनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ।

दोस्रो पोस्टरमा दयाहाङ र गौमाया हात समातेर झरनाको बाटो हुँदै अघि बढिरहेका छन्। डोको बोकेकी गौमाया र भारीसहित यात्रा गरिरहेका दयाहाङको दृश्यले संघर्षपूर्ण जीवन, प्रेम, सहकार्य र जिम्मेवारीको भावलाई जीवन्त बनाएको छ। प्राकृतिक सौन्दर्यले भरिएको यो पोस्टरले चलचित्रको भावनात्मक पक्षलाई थप सशक्त बनाएको देखिन्छ।
तेस्रो पोस्टरमा दयाहाङ सैनिक पोसाकमा छन् भने गौमाया परम्परागत गुरुङ पोशाकमा सजिएकी छन्। पृष्ठभूमिमा देखिएका युवा पात्रहरूले प्रेम, परिवार, प्रतीक्षा र पुस्तान्तरणको कथालाई संकेत गरेका छन्। यसले ‘पेन्सन पट्टा’ केवल एक पूर्वलाहुरेको कथा नभई नेपाली समाज, परिवार र मानवीय मूल्यसँग जोडिएको चलचित्र भएको सन्देश दिन्छ।
निर्देशक माओत्से गुरुङका अनुसार चलचित्रले आशा, संघर्ष, सम्बन्ध र जीवनका उतारचढावलाई केन्द्रमा राख्दै लक्ष्य प्राप्तिका लागि मानिसले गर्ने अथक प्रयासको कथा प्रस्तुत गर्नेछ।

चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, पाशुपति राई, स्वर्गीय सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई तथा लुनिभा तुलाधरलगायत कलाकारहरूको अभिनय रहेको छ।
कथा तथा निर्देशन माओत्से गुरुङकै रहेको चलचित्रको छायांकन सुशन प्रजापतिले गरेका छन्। सम्पादन केर डी. कोइच लिनुच, कलर ग्रेडिङ राजेन्द्र मोक्तान, साउन्ड डिजाइन उत्तम न्यौपाने, सिंक साउन्ड नवीन श्रेष्ठ, भीएफएक्स मनोज श्रेष्ठ तथा कला निर्देशन राजु याक्चाले सम्हालेका छन्।
चलचित्रका निर्माता मिन कोन्मे गुरुङ (यूके), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ (हङकङ) र सपना गुरुङ हुन् भने डी.बी. गुरुङ प्रोडक्सन म्यानेजरका रूपमा आबद्ध छन्। गीतमा हर्क साउद, शिव बराइली र सूरज तमुको शब्द तथा मनोज थापा मगर, शिव बराइली र सूरज तमुको संगीत रहेको छ।
नेपालभर चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ। निर्माण टिमका अनुसार चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार पनि विभिन्न देशमा बिक्री भइसकेको छ। हालसम्म हङकङ, अष्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतका लागि प्रदर्शन अधिकार बिक्री भएको छ भने अन्य देशहरूसँग पनि प्रदर्शनबारे छलफल भइरहेको निर्देशक गुरुङले जानकारी दिएका छन्।
हरितालिका तीजको अवसर पारेर भदौ २६ गते प्रदर्शनमा आउने ‘पेन्सन पट्टा’ले ग्रामीण जीवन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र मानवीय संवेदनालाई मार्मिक ढंगले प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।


