काठमाडौं । सुपरहिट चलचित्र ‘खुस्मा’पछि निर्देशक अशोक थापा मगर नयाँ चलचित्र ‘जलाकी’ लिएर दर्शकमाझ आउने भएका छन्। निर्माण टिमले असार १५ अर्थात् दही–चिउरा खाने दिनको अवसर पारेर चलचित्रको प्रदर्शन मिति घोषणा गर्दै दुईवटा आकर्षक पोस्टर सार्वजनिक गरेको छ। चलचित्र आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।
सार्वजनिक गरिएका पोस्टरमा चलचित्रका मुख्य कलाकार सोनम तोप्देन र उपासना सिंह ठकुरीलाई केन्द्रमा राखिएको छ। दुई फरक शैलीका पोस्टरले चलचित्रको प्रेम, भावनात्मक द्वन्द्व र सम्बन्धका विभिन्न आयामलाई संकेत गरेका छन्। ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले डिजाइन गरेका पोस्टरले सामाजिक सञ्जालमा समेत राम्रो प्रतिक्रिया पाइरहेका छन्।

पहिलो पोस्टरमा सोनम र उपासना प्रेमिल र खुसीयाली क्षणमा देखिन्छन्। उनीहरूबीचको आत्मीयता, विश्वास र प्रेमले चलचित्रमा रोमान्टिक कथा रहेको संकेत गर्छ।
दोस्रो पोस्टरमा भने उनीहरू गम्भीर र भावुक मुद्रामा छन्। पात्रहरूको अनुहारमा देखिएको पीडा, मौनता र भावनात्मक तनावले कथामा आउने संघर्ष र सम्बन्धको उतारचढावबारे उत्सुकता जगाउँछ।
निर्देशक अशोक थापा मगरका अनुसार ‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीक मानिने ढुङ्गाबाट बनाइने स्तम्भको नाम हो। यही सांस्कृतिक प्रतीकलाई आधार बनाएर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा, जीवनशैली र भावनालाई समेटिएको कथा चलचित्रमा प्रस्तुत गरिएको उनले बताए।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनको अभिनय रहेको छ। विशेष भूमिकामा क्याप्टेन विजय लामा देखिनेछन् भने बाल कलाकारका रूपमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगरले अभिनय गरेका छन्। यसै चलचित्रबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली चलचित्रमा डेब्यु गर्दैछिन्।
निर्देशक अशोक थापा मगरको पहिलो चलचित्र ‘खुस्मा’ व्यावसायिक रूपमा सफल भएको थियो। सोही चलचित्रबाट अभिनेत्री उपासना सिंह ठकुरीले राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेत्रीको सम्मान जितेकी थिइन्। यही सफल सहकार्यलाई ‘जलाकी’मा पनि निरन्तरता दिइएको छ।
चलचित्रका निर्माता ओम घर्ति मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनहा मगर र सुस्मिता बुढाथोकी हुन्।
चलचित्रमा शैलेन्द्र डी. कार्कीको छायांकन, एसडी योगी र सरित राईको संगीत, सुरेन्द्र राना र राम अविरल विष्टका गीत, तथा एसडी योगी, अञ्जु पन्त, मेलिना राई, रेश्मी पुन मगर र गीताञ्जली थापा मगरको स्वर समावेश गरिएको छ।
‘खुस्मा’को ‘रुकुम मैकोट’ गीतले जस्तै ‘जलाकी’ले पनि दर्शकमाझ विशेष छाप छोड्ने विश्वास निर्माण टिमको छ। चलचित्रलाई काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रीब्युसनले देशभर वितरण गर्नेछन्।


