काठमाडौं, असार १५ । निर्देशक बलिराम चौहानको नयाँ फिल्म ‘ल्याङ्ग ल्याङ्ग’मा अभिनेता तथा गायक रियान गिरी अनुबन्धित भएका छन्। निर्माण टिमले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको अवसर पारेर सोमबार रियानलाई फिल्मको मुख्य भूमिकाका लागि अनुबन्ध गरिएको जानकारी दिएको हो।
फिल्म ‘होस्टेल–३’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका रियानले अभिनयसँगै गायनमा पनि आफ्नो पहिचान बनाइसकेका छन्। उनले विभिन्न गीतमा स्वर दिँदै संगीत क्षेत्रमा पनि सक्रियता देखाउँदै आएका छन्।
निर्देशक बलिराम चौहानका अनुसार रियानलाई फिल्मको मुख्य पात्रका रूपमा अनुबन्ध गरिएको हो। “हाम्रो कथाको पात्रसँग रियानको व्यक्तित्व र अभिनय क्षमता राम्रोसँग मेल खाने भएकाले उनलाई मुख्य भूमिकाका लागि छनोट गरेका हौँ,” उनले बताए।
गत वर्ष समीक्षात्मक रूपमा प्रशंसा बटुलेको फिल्म ‘द ब्ल्यू लाइट’मार्फत निर्देशनमा डेब्यु गरेका चौहान अहिले ‘ल्याङ्ग ल्याङ्ग’को तयारीमा जुटेका छन्। केही समयअघि थिम पोस्टरसँगै फिल्मको शीर्षक सार्वजनिक गर्दै उनले नयाँ परियोजनाको औपचारिक घोषणा गरेका थिए।
हाल निर्माण टिम कलाकार तथा प्राविधिक छनोटको प्रक्रियामा रहेको निर्देशक चौहानले जानकारी दिएका छन्। उनका अनुसार अन्य कलाकार र प्राविधिक टोलीको टुंगो पनि क्रमशः लगाइँदै छ।
स्काइफल पिक्चर्सको प्रस्तुति रहने फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को स्लोगन ‘हरेक युवाको कथा’ रहेको छ। यसले आधुनिक युवा पुस्ताको जीवन, सम्बन्ध, संघर्ष र मनोविज्ञानलाई केन्द्रमा राखेर कथा अघि बढ्ने संकेत गर्छ।
युवा पुस्तामाझ प्रचलित शब्द ‘ल्याङ्ग ल्याङ्ग’को अर्थ एउटै विषयमा बारम्बार किचकिच गर्नु, तनाव दिनु वा निरन्तर दबाब सिर्जना गर्नु हो। निर्माण पक्षले यही भावलाई कथाको केन्द्रमा राखेर फिल्म तयार पार्न लागेको जनाएको छ।
फिल्मको थिम पोस्टरमा समावेश गरिएको ‘पालना गर्ने वाचा र बाँच्ने उद्देश्य : यो जीवनको लागि यति मात्र हो’ भन्ने वाक्यले प्रेम, वाचा, धोका र जीवनका उतारचढावलाई कथाको मूल आधार बनाइएको संकेत दिएको थियो।
फिल्मको कथा बलिराम चौहान र उपश्री खतिवडाले संयुक्त रूपमा लेखेका हुन्।
उल्लेखनीय रूपमा, निर्देशक चौहानको पहिलो फिल्म ‘द ब्ल्यू लाइट’ले समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाए पनि प्रदर्शनका क्रममा परेको निर्वाचनको माहोलका कारण प्रदर्शनको तेस्रो दिनमै हलबाट हटाइएको थियो। यसपटक भने उनी ‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथालाई नयाँ शैलीमा पर्दामा उतार्ने तयारीमा छन्।


