काठमाडौं। हेटौंडाका ११ वर्षीय आर्मोन कार्कीले द भ्वाइस किड्स सिजन ५ को ब्लाइन्ड अडिसन सफलतापूर्वक पार गर्दै अर्को चरणमा प्रवेश गरेका छन्।
ब्लाइन्ड अडिसनमा उनले स्वरसम्राट नारायण गोपालको चर्चित देशभक्तिपूर्ण गीत ‘वीरताको चिनो, वीरको सन्तान’ प्रस्तुत गर्दै दर्शक र कोचहरूको मन जितेका थिए। उनको सशक्त गायनबाट प्रभावित भएर कोच मिलन नेवार र अर्जुन सापकोटाले आफ्नो कुर्सी फर्काएका थिए।
टिम छनोट गर्ने क्रममा आर्मोनले कोच मिलन नेवारलाई “सरी म्याम” भन्दै अर्जुन सापकोटाको टोली रोजेका थिए। कार्यक्रममा उपस्थित सबै कोचहरूले उनको स्वर, आत्मविश्वास र प्रस्तुतीको खुलेर प्रशंसा गरेका थिए।
हाल कक्षा ६ मा अध्ययनरत आर्मोन सानै उमेरदेखि गीत–संगीतप्रति रुचि राख्दै आएका छन्। नर्सरी कक्षामै विद्यालयको सांस्कृतिक कार्यक्रममा करिब ५०० दर्शकमाझ ‘यो नेपाली शिर उचाली’ गीत प्रस्तुत गरेर उनले सबैको ध्यान आकर्षित गरेका थिए।
विद्यालयस्तरदेखि जिल्ला र प्रदेशस्तरीय विभिन्न गायन प्रतियोगितामा सहभागी हुँदै उनले थुप्रै पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन्। उनको लक्ष्य द भ्वाइस किड्स सिजन ५ को उपाधि जित्ने रहेको छ।
गायनसँगै आर्मोन गिटार, हार्मोनियम र पियानो बजाउन पनि उत्तिकै दक्ष छन्। संगीतका अतिरिक्त उनी चित्रकलामा समेत रुचि राख्छन्। उनले बनाउने अधिकांश चित्र नेपाली तथा भारतीय चर्चित गायक–गायिकाका हुने गरेका छन्, जसबाट संगीतप्रतिको उनको गहिरो लगाव झल्किन्छ।
आर्मोन आफ्नो प्रेरणाको स्रोत आफ्नै बुवालाई मान्छन् भने स्वरसम्राट नारायण गोपाल र भक्तराज आचार्यलाई आफ्नो आदर्श कलाकारका रूपमा लिन्छन्।
यसपटक द भ्वाइस किड्स मा आर्मोनसँगै उनकी बहिनी आध्या कार्की पनि सहभागी भएकी थिइन्। उनले स्वरसम्राट नारायण गोपालको ‘यति धेरै माया दिई’ गीत प्रस्तुत गरेकी थिइन्। उनी अर्को चरणमा पुग्न नसके पनि सबै कोचहरूको प्रशंसा बटुल्न सफल भइन्। कोचहरूले उनको गायन, सुर र टाइमिङको खुलेर प्रशंसा गरेका थिए।
आर्मोनका बुबा पेशाले शिक्षक हुन् भने आमा नर्स हुन्। दुवैले आफ्ना छोराछोरीमाथि कुनै पेशागत दबाब नदिई उनीहरूको रुचिअनुसार संगीत क्षेत्रमा अघि बढ्न निरन्तर प्रोत्साहन गर्दै आएका छन्।
सन्तानलाई केवल डाक्टर, इन्जिनियर वा आईटीजस्ता पेशामा मात्र सफल भविष्य देख्ने प्रवृत्ति बढिरहेका बेला आर्मोनको परिवारले बालबालिकाको रुचि, प्रतिभा र सपना पहिचान गरी त्यसलाई प्रोत्साहन गर्नुपर्छ भन्ने सकारात्मक सन्देश दिएको छ।


