काठमाडौं । आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘लज्जावती’ की मुख्य अभिनेत्री मेनुका माझी यतिबेला फिल्मको प्रचारप्रसारसँगै ‘फेस अफ नेपाल–२०२६’ को तेस्रो संस्करणलाई सफल बनाउन व्यस्त छिन्। प्रतियोगिताकी राष्ट्रिय निर्देशकसमेत रहेकी मेनुकाले अभिनयसँगै नयाँ प्रतिभाको खोजी र उनीहरूको क्षमता विकासमा सक्रिय भूमिका निभाइरहेकी छन्।
एमएस प्रोडक्सन प्रालिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘फेस अफ नेपाल–२०२६’ का लागि आवेदन खुला भएको घोषणा गरेको हो। प्रतियोगितामा देशभरका १७ देखि ३० वर्ष उमेर समूहका महिला तथा पुरुषले सहभागिता जनाउन सक्नेछन्।
इच्छुक सहभागीले Face of Nepal को आधिकारिक सामाजिक सञ्जाल पेज तथा प्रतियोगिताको आधिकारिक भोटिङ पार्टनर Aventoz मार्फत आवेदन दिन सक्नेछन्। आवेदनका लागि एक हजार रुपैयाँ दर्ता शुल्क लाग्नेछ भने छनोट भएका प्रतियोगीले १५ हजार रुपैयाँ सहभागिता शुल्क बुझाउनुपर्नेछ।
आयोजकका अनुसार प्रतियोगिता विभिन्न चरणमा सञ्चालन हुनेछ, जसमा सहभागीहरूको आत्मविश्वास, व्यक्तित्व, प्रतिभा, सिर्जनशीलता तथा मोडलिङ क्षमताको मूल्याङ्कन गरिनेछ। साथै उनीहरूले फिटनेस तथा व्यक्तित्व विकास, ग्रुमिङ, व्यावसायिक स्टाइलिङ, मोडलिङ र स्टेज प्रस्तुति सम्बन्धी व्यावसायिक प्रशिक्षण पनि प्राप्त गर्नेछन्।
प्रतियोगिताको पहिलो चरणको अडिसन यही असार २७ गते (११ जुलाई) हुने तय भएको छ। त्यसपछि प्रशिक्षण, विभिन्न प्रतिस्पर्धात्मक चरण तथा अन्य कार्यक्रमका विवरण आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने आयोजकले जनाएको छ।
यस प्रतियोगिताका विजेताले दक्षिण कोरियामा आयोजना हुने प्रतिष्ठित एसिया मोडल फेस्टिभल मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्। साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मोडलिङ तथा फेसन उद्योगमा व्यावसायिक रूपमा अघि बढ्ने अवसरसमेत पाउनेछन्।
राष्ट्रिय निर्देशक मेनुका माझीले ‘फेस अफ नेपाल’ नेपाली युवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मोडलिङ क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण मञ्च भएको बताइन्। प्रतियोगितामा आत्मविश्वास, व्यक्तित्व र प्रतिभालाई प्राथमिकता दिइने भएकाले कुनै उचाइको मापदण्ड नराखिएको उनले स्पष्ट पारिन्।
उनले नयाँ पुस्ताका प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने उद्देश्यसहित प्रतियोगिता सञ्चालन हुँदै आएको उल्लेख गर्दै मोडलिङ क्षेत्रमा भविष्य बनाउन चाहने युवायुवतीलाई निर्धक्क भएर आवेदन दिन आग्रह गरिन्।
यस वर्षको ग्रान्ड फिनाले आगामी भदौ १४ गते (३० अगस्ट २०२६) काठमाडौंस्थित रोयल टुलिपमा आयोजना हुनेछ। कार्यक्रममा फेसन तथा मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
दक्षिण कोरियाको प्रतिष्ठित एसिया मोडल फेस्टिभल को नेपालको आधिकारिक फ्रेन्चाइजका रूपमा सञ्चालन हुँदै आएको ‘फेस अफ नेपाल’ ले यस वर्ष पनि देशभरका प्रतिभाशाली महिला तथा पुरुष मोडललाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने लक्ष्य राखेको छ।


