काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘अक्षरा’ ले प्रदर्शनअघि नै दक्षिण कोरियाको वितरण अधिकार बिक्री गर्न सफल भएको छ।
क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण भएको फिल्मको दक्षिण कोरियाका लागि प्रदर्शन अधिकार ‘केटीएम २ सोल’ कम्पनीले खरिद गरेको निर्माण पक्षले जनाएको छ। सम्झौतासँगै दक्षिण कोरियामा रहेका नेपाली दर्शकले पनि फिल्म प्रदर्शनका क्रममा हेर्न पाउने भएका छन्। यद्यपि, वितरण अधिकार कति रकममा बिक्री गरिएको हो भन्ने विवरण भने सार्वजनिक गरिएको छैन।
निर्माण पक्षका अनुसार नेपालमा प्रदर्शन मिति घोषणा भएसँगै अन्तर्राष्ट्रिय बजारमा वितरण अधिकार बिक्री हुनु फिल्मका लागि सकारात्मक संकेत मानिएको छ।
सोनी थापा (ढुङ्गाना)को प्रस्तुतिमा बनेको फिल्मलाई विनय राज पौडेलले निर्देशन गरेका हुन्। चलचित्रमा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको मुख्य भूमिका रहेको छ। बाल कलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना देखिएका छन्।
फिल्मकी अभिनेत्री न्यान्सी खड्काले यसअघि ‘१२ गाउँ’मा अभिनय गरिसकेकी छन्।
चलचित्रका निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन् भने कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन्। फिल्मको कथा उग्रसेन ढुङ्गानाले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक विनय राज पौडेलले संयुक्त रूपमा तयार गरेका छन्।
फिल्ममा दिपेन बस्न्यातको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी तथा शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ। चलचित्रको वितरण नेशनल सिने ग्रुप नेपालको तर्फबाट दीपक दंगालले गर्नेछन्।‘अक्षरा’ आगामी भदौ २६ गतेदेखि नेपालभर प्रदर्शनमा आउने तयारीमा छ।


