काठमाडौं । पूर्ण हास्यव्यङ्ग्य शैलीमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘तिरिमिरी झ्याइँ’ को शुभमुहूर्त सम्पन्न भएको छ। होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा बन्न लागेको चलचित्रको बुधबार वैदिक विधिअनुसार पूजाआजा गर्दै कलाकार, निर्माण टोली तथा सञ्चारकर्मीहरूको उपस्थितिमा औपचारिक शुभारम्भ गरिएको हो।
मुहूर्त शटसँगै चलचित्रको छायाङ्कन आगामी असार २९ गतेदेखि सुरु हुने निर्माण पक्षले जनाएको छ।
आभास अधिकारीको कथा तथा अवधारणामा बन्न लागेको चलचित्रको निर्देशन समीरले गर्नेछन्। मुहूर्त समारोहमा निर्देशक समीरले ‘तिरिमिरी झ्याइँ’ विशुद्ध हास्यव्यङ्ग्यमा आधारित पारिवारिक मनोरञ्जनात्मक चलचित्र हुने बताउँदै सुरुदेखि अन्त्यसम्म दर्शकलाई हँसाउने विश्वास व्यक्त गरे।
निर्माता प्रद्युम्न बोगटी (प्रबिन)ले गुणस्तरीय पारिवारिक कमेडी चलचित्र निर्माण गर्ने लक्ष्यसहित आफूहरू अघि बढेको उल्लेख गर्दै सम्पूर्ण टिमको मेहनतले दर्शकको मन जित्नेमा विश्वस्त रहेको बताए। कार्यकारी निर्माता तथा कथाकार आभास अधिकारीले समाजका रमाइला, व्यङ्ग्यात्मक र ठट्यौला घटनालाई पर्दामा उतार्ने प्रयास गरिएको जानकारी दिए।

यस चलचित्रमार्फत ‘दले दाइ’का नामले परिचित कमेडियन सुमन कोइरालाले नेपाली चलचित्रमा अभिनय यात्रा सुरु गर्दैछन्। चलचित्रमा धिरेन शाक्य, आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, पुष्कर खतिवडा, राजश्री थापा, घनश्याम जोशीलगायत कलाकारको मुख्य भूमिका रहनेछ।
चलचित्रका सह–निर्मातामा भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, पुष्कर खतिवडा, दिनेश श्रेष्ठ र अनिल शर्मा रहेका छन्।
प्राविधिक पक्षमा विशाल कक्षपतिको छायाङ्कन, अभिषेक कार्कीको संगीत तथा गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाको संयुक्त पटकथा तथा संवाद रहनेछ। करणबहादुर साउद मुख्य सहायक निर्देशक, निर्मल न्यौपाने प्रोडक्सन म्यानेजर र रबिन काजी शाक्य प्रोडक्सन डिजाइनरको भूमिकामा रहनेछन्।
त्यसैगरी प्रदीप लामा र सियोन श्रेष्ठको कोरियोग्राफी, रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)को पोस्टर तथा पब्लिसिटी डिजाइन, दिलमाया रोकाको मेकअप, अप्सरा कुँवरको हेयर स्टाइल र रीजुन प्रधानको कस्ट्युम डिजाइन रहने निर्माण पक्षले जनाएको छ।
मुहूर्त कार्यक्रममा निर्माण टोली र कलाकारहरूले चलचित्रप्रति उत्साह व्यक्त गर्दै ‘तिरिमिरी झ्याइँ’ले नेपाली दर्शकलाई नयाँ स्वादको हास्य मनोरञ्जन दिने विश्वास व्यक्त गरेका छन्।


