काठमाडौं । प्रदर्शनअघि नै नेपाली चलचित्र ‘आ बाट आमा २’ ले अन्तर्राष्ट्रिय बजारमा उत्साहजनक व्यापार गर्न थालेको छ। आर्य इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस चलचित्रको क्रोएसिया प्रदर्शन अधिकार बिक्री भएको निर्माण पक्षले जनाएको छ।
क्रोएसियास्थित नेप इन्टरटेन्मेन्ट (NEP Entertainment) र जाग्रेबमा रहेको बुद्ध मार्ट ले चलचित्रको प्रदर्शन अधिकार खरिद गरेका हुन्। निर्माता तथा निर्देशक चन्द्र पन्त र क्रोएसियाली वितरकबीच प्रदर्शन अधिकारसम्बन्धी औपचारिक सम्झौता सम्पन्न भइसकेको छ।
निर्माण पक्षका अनुसार पछिल्लो समय क्रोएसियामा नेपाली समुदायको संख्या उल्लेख्य रूपमा बढ्दै गएकाले त्यहाँका वितरकहरूले चलचित्रप्रति चासो देखाएका हुन्। यसअघि नै चलचित्रको प्रदर्शन अधिकार अमेरिका, क्यानडा र जापानलगायतका मुलुकमा बिक्री भइसकेको छ।
चन्द्र पन्तकै कथा र पटकथामा निर्माण भएको ‘आ बाट आमा २’ आगामी असोज ३० गते, बडादसैंको फूलपातीको अवसर पारेर नेपालसहित विश्वभर प्रदर्शनमा आउने तयारीमा छ।
वैदेशिक रोजगारीका कारण परिवारबाट टाढिएका सन्तान र उनीहरूको प्रतीक्षामा बसिरहने आमाको भावनात्मक कथामा आधारित चलचित्रले ‘दशैंको जमरा र आमाको पर्खाइको कथा’लाई मुख्य विषय बनाएको छ। पोस्टरमा समावेश गरिएको ‘आउँछु भन्ने एउटा भुटो आशामा आमाले वर्षेनी जमरा छरिरहन्छिन्’ भन्ने मार्मिक हरफले चलचित्रको भावनात्मक पक्ष झल्काउँछ।
आर्य पन्तको प्रस्तुतिमा बनेको चलचित्रमा पल शाह, विपना थापा, आकाश श्रेष्ठ, प्रदीप रावत (गजनीका भिलेन), मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, सविन श्रेष्ठ, साइग्रेस पोखरेल, गजित विष्ट, दिलिप अखेडा र नरेन खड्कालगायत कलाकारको अभिनय रहेको छ।
नेपालभर चलचित्रको वितरण आरआर फिल्मस् ले गर्नेछ भने डिजिटल प्रदर्शन अधिकार ओएसआर डिजिटल ले खरिद गरिसकेको छ। चलचित्रका प्रोडक्सन म्यानेजर करणसिंह रसाली हुन्।
प्रदर्शनअघि नै विभिन्न अन्तर्राष्ट्रिय बजारमा वितरण अधिकार बिक्री हुन थालेपछि ‘आ बाट आमा २’ प्रति दर्शक र नेपाली चलचित्र वृत्तमा उत्साह थपिएको निर्माण पक्षको विश्वास छ।


