काठमाडौं । नेपाली चलचित्र ‘आशा’ निर्माण हुने भएको छ। काठमाडौंमा आयोजित विशेष समारोहमार्फत उडान स्टुडियोको ब्यानरमा बन्ने यस चलचित्रको औपचारिक घोषणा गरिएको हो। शर्मिला थापाको लगानीमा निर्माण हुन लागेको चलचित्रको निर्देशन राजिव गुरुङले गर्नेछन्।
चलचित्र घोषणा कार्यक्रममा अग्रज प्राविधिकलाई सम्मान गर्दै कलाकार र प्राविधिक टोलीको पनि परिचय गराइएको थियो। ११ जना बटुकद्वारा स्वस्तिवाचन गरिएपछि चलचित्रको शीर्षक सार्वजनिक गरिएको थियो।
पारिवारिक कथावस्तुमा आधारित चलचित्रमा महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, शुशांक मैनाली, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी लगायतका कलाकारको अभिनय रहनेछ।
निर्मात्री शर्मिला थापाले चलचित्रले परिवारको महत्व र सम्बन्धको भावनात्मक पक्षलाई केन्द्रमा राख्ने बताइन्। उनका अनुसार अहिलेको व्यस्त जीवनशैलीका कारण परिवारसँग बिताउने समय घट्दै गएको यथार्थलाई चलचित्रले संवेदनशील ढंगले प्रस्तुत गर्नेछ।
उनले भनिन्, “‘आशा’ पूर्ण रूपमा पारिवारिक चलचित्र हो। परिवारको कुनै सदस्यको अभाव हुँदा मात्र उसको महत्व अझ गहिरो रूपमा महसुस हुन्छ। हामी नेपाली समाजको आफ्नै कथा सबै उमेर समूहका दर्शकका लागि प्रस्तुत गर्दैछौं, जुन अन्तर्राष्ट्रिय दर्शकमाझ पनि गर्वका साथ देखाउन सकिने विश्वास छ।”
निर्देशक तथा कथाकार राजिव गुरुङले चलचित्रले मनोरञ्जनसँगै समाजलाई सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे। उनले कथा अत्यन्तै संवेदनशील र मन छुने भएकाले दर्शकले फरक अनुभव गर्ने बताए।
अभिनेता महेश त्रिपाठीले पनि कथावस्तुले आफूलाई आकर्षित गरेकाले चलचित्रमा आबद्ध भएको बताए। उनका अनुसार चलचित्रले मनोरञ्जनसँगै दर्शकलाई सोच्न बाध्य बनाउने सशक्त विषय उठाउनेछ।
घोषणा समारोहमा नेपाली चलचित्र क्षेत्रका अग्रज प्राविधिक कमल मिश्रलाई नगद ५१ हजार रुपैयाँसहित सम्मान गरिएको थियो। चलचित्र ‘अन्याय’ (२०४६) मार्फत भेषभूषा क्षेत्रमा योगदान पुर्याएका मिश्रलाई निर्मात्री शर्मिला थापा, निर्देशक राजिव गुरुङ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले संयुक्त रूपमा सम्मान गरेका थिए।
चलचित्रको सहलेखन रामकुमार श्रेष्ठले गरेका छन्। सुदाम एसके स्क्रिप्ट सुपरभाइजर तथा कास्टिङ निर्देशकका रूपमा रहेका छन् भने नरेन्द्र मैनाली छायाङ्कन, युग भुसाल र समीर खरेल संगीत, किशोर आचार्य ध्वनि डिजाइन तथा सोनाली शिल्पकार मेकअप र हेयर डिजाइनको जिम्मेवारीमा छन्।
यस्तै, मुख्य सहायक निर्देशक रामकुमार श्रेष्ठ, सहायक निर्देशक शान्ति तामाङ, प्रोडक्सन म्यानेजर अरुण रेग्मी, प्रोडक्सन डिजाइनर रेलिजा श्रेष्ठ, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) तथा वितरकका रूपमा करण श्रेष्ठ (रिच इन्टरटेन्मेन्ट) रहेका छन्।


