काठमाडौं । साविक विजेता अर्जेन्टिना अतिरिक्त समयमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।
आज बिहान सम्पन्न रोमाञ्चक क्वार्टरफाइनलमा निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा अर्जेन्टिनाले दुई गोल गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
अर्जेन्टिनाले खेलको १०औँ मिनेटमै अग्रता बनाएको थियो। अलेक्सिस म्याक एलिस्टरले गोल गर्दै टोलीलाई १–० को अवस्थामा पुर्याएका थिए।
दोस्रो हाफमा स्विट्जरल्यान्डले उत्कृष्ट पुनरागमन गर्यो। खेलको ६७औँ मिनेटमा ड्यान एनडोएले बराबरी गोल गर्दै खेल १–१ मा ल्याए। त्यसको पाँच मिनेटपछि, ७२औँ मिनेटमा ब्रेल एम्बोलो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भयो।
संख्यात्मक रूपमा कमजोर बने पनि स्विट्जरल्यान्डले निर्धारित समयसम्म अर्जेन्टिनालाई थप गोल गर्न दिएन र खेल अतिरिक्त समयमा धकेलियो।
अतिरिक्त समयको ११२औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए। त्यसपछि इन्जुरी समयको पहिलो मिनेट (१२०+१) मा लाउटारो मार्टिनेजले अर्को गोल थप्दै अर्जेन्टिनाको ३–१ को जित पक्का गरे।
यो जितसँगै अर्जेन्टिनाले लगातार दोस्रो विश्वकप उपाधितर्फको यात्रा कायम राख्दै सेमिफाइनलमा स्थान बनाएको छ।अब अर्जेन्टिनाले जुलाई १५ मा अटलान्टा स्टेडियममा हुने सेमिफाइनलमा इङ्गल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।



