काठमाडौं । वास्तविक घटनाबाट प्रेरित नेपाली चलचित्र ‘हली’ नेपालमा प्रदर्शन हुनुअघि नै विदेशमा उत्साहजनक प्रतिक्रिया पाउन थालेको छ। आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्मको साइप्रस प्रदर्शन अधिकार पूर्ण रूपमा बिक्री भइसकेको निर्माण पक्षले जनाएको छ।
निर्माताद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठका अनुसार साइप्रसमा चलचित्रको प्रदर्शन सुनिश्चित भइसकेको छ भने पहिलो शो नै ‘सोल्ड आउट’ भएको छ। साथै, अन्य विभिन्न देशमा पनि प्रदर्शन अधिकार बिक्रीका लागि तीव्र रूपमा छलफल भइरहेको र सम्झौता टुंगिने क्रम जारी रहेको उनीहरूले बताएका छन्। अन्य देशको प्रदर्शन तालिका तय भएपछि आधिकारिक जानकारी सार्वजनिक गरिने जनाइएको छ।
शुभ चिरायु फिल्म्स र जापुरा फिल्म्स प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको ‘हली’ सार्वजनिक पोस्टर र प्रमोसनल गीतपछि चर्चामा छ। गत वर्ष व्यावसायिक रूपमा सफल चलचित्र ‘मोहर’ निर्देशन गरेका ओम प्रतीकले यस फिल्मको पनि निर्देशन गरेका हुन्।
निर्माण पक्षका अनुसार चलचित्रले समाजमा सकारात्मक परिवर्तन ल्याउन एक सचेत व्यक्तिको भूमिकासमेत पर्याप्त हुन सक्छ भन्ने सन्देश बोकेको छ। यही विषयवस्तुका कारण दर्शकले चलचित्रलाई सकारात्मक रूपमा ग्रहण गर्ने विश्वास निर्माण टिमको छ।
चलचित्रमा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको मुख्य अभिनय रहेको छ। निर्देशक ओम प्रतीक पनि विशेष भूमिकामा देखिनेछन्।
फिल्ममा समावेश विशेष प्रमोसनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले नृत्य गरेका छन्। उक्त गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् भने अन्य गीतमा ओम प्रतीक र कविराजले संयुक्त रूपमा नृत्य निर्देशन गरेका छन्।
संगीततर्फ चलचित्रमा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ। जश्मिन श्रेष्ठको शब्द र बाबुल गिरीको संगीत रहेको मुख्य गीतमा बाबुल गिरी र शान्तिश्री परियारको स्वर सुन्न सकिन्छ।
चलचित्रका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्। राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई नेसनल सिने ग्रुप प्रालिले वितरण गर्दैछ। यसको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।
नेपाल र विदेश दुवैतर्फ बढ्दो चर्चासँगै निर्माण पक्षले ‘हली’ले प्रदर्शनपछि पनि दर्शकबाट राम्रो साथ पाउने अपेक्षा गरेको छ।


