काठमाडौं । निर्माता जनक घर्ती मगरले नयाँ नेपाली चलचित्र ‘आकाश वर्षा’ निर्माण गर्ने घोषणा गरेका छन्। हालै प्रदर्शनमा आएको चलचित्र ‘मितज्यू’पछि उनले आफ्नो नयाँ परियोजनाको रूपमा ‘आकाश वर्षा’को टाइटल पोस्टर सार्वजनिक गरेका हुन्।
जीएम मुभी प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको निर्देशन सुदीप भजुले गर्नेछन्। सार्वजनिक पोस्टरमा आकाशबाट हल्का वर्षा भइरहेको दृश्य, बादल र पहाडी पृष्ठभूमि प्रस्तुत गरिएको छ। पोस्टरले प्रेम, आशा, संघर्ष र जीवनका विभिन्न भावलाई प्रतीकात्मक रूपमा चित्रण गर्ने संकेत दिएको छ।
निर्माता जनक घर्ती मगरका अनुसार चलचित्र विशुद्ध प्रेमकथामा आधारित हुनेछ।
“लामो समयपछि दर्शकका लागि एउटा शुद्ध प्रेमकथा लिएर आउँदैछौं। ‘आकाश वर्षा’ प्रेम, भावना र सम्बन्धको कथा हो,” उनले भने।
चलचित्रका कलाकार र अन्य प्राविधिक टोलीबारे भने निर्माण पक्षले हालसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन।
पछिल्ला वर्षहरूमा नेपाली चलचित्र उद्योगमा प्रेमकथामा आधारित फिल्मको संख्या कम हुँदै गइरहेका बेला जनकले यही विधामा चलचित्र निर्माण गर्न लागेका हुन्। यसअघि उनले सामाजिक कथावस्तुमा आधारित ‘घरज्वाइँ’ र ‘मितज्यू’ निर्माण गरेका थिए।
‘आकाश वर्षा’को परिकल्पना निर्माता जनक घर्ती मगरकै रहेको छ भने कथा तथा पटकथा अमीर मगरले तयार पारेका छन्।
निर्माता जनकका अघिल्ला दुवै चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएका थिए। ‘घरज्वाइँ’ व्यावसायिक रूपमा सफल चलचित्र बनेको थियो भने **‘मितज्यू’**ले समीक्षक र दर्शक दुवैबाट प्रशंसा बटुलेको थियो।
यसैबीच, चलचित्रको देशव्यापी वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको निर्माण पक्षले जनाएको छ।


