काठमाडौं । इंग्ल्यान्डले फ्रान्सलाई रोमाञ्चक खेलमा ६–४ ले पराजित गर्दै फिफा विश्वकप २०२६ मा तेस्रो स्थान हासिल गरेको छ।
आइतबार बिहान मियामी स्टेडियममा सम्पन्न तेस्रो स्थानको प्रतिस्पर्धामा इंग्ल्यान्डले आक्रामक प्रदर्शन गर्दै फ्रान्समाथि प्रभावशाली जित दर्ता गरेको हो।
इंग्ल्यान्डको जितका प्रमुख नायक बुकायो शाका बने। उनले ह्याट्रिक पूरा गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए। खेलको ३७औँ मिनेट र पहिलो हाफको इन्जुरी समयमा गोल गरेका शाकाले ८७औँ मिनेटमा पेनाल्टीमार्फत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।
इंग्ल्यान्डले खेलको तेस्रो मिनेटमै डेक्लान राइसको गोलबाट अग्रता लिएको थियो। त्यसपछि १८औँ मिनेटमा एज्री कोन्शाले हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए। पहिलो हाफको अन्त्यसम्म शाकाको दुई गोलसहित इंग्ल्यान्ड ४–० ले अगाडि रहेको थियो।
दोस्रो हाफमा भने फ्रान्सले शानदार पुनरागमन गर्ने प्रयास गर्यो। कप्तान किलियन एमबाप्पेले ४८औँ मिनेटमा गोल गर्दै टोलीको खाता खोले भने ब्राडली बारकोलाले ५४औँ मिनेटमा अर्को गोल थपे। ६६औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ४–३ को अवस्थामा ल्याए।
तर ८७औँ मिनेटमा प्राप्त पेनाल्टीलाई शाकाले गोलमा परिणत गर्दै इंग्ल्यान्डको अग्रता पुनः फराकिलो बनाए। इन्जुरी समयमा उस्मान डेम्बेलेले फ्रान्सका लागि अर्को गोल फर्काए पनि अन्तिम क्षणमा जुड बेलिङ्घमले गोल गर्दै इंग्ल्यान्डको ६–४ को शानदार जित सुनिश्चित गरे।
यस जितसँगै इंग्ल्यान्डले विश्वकप २०२६ को तेस्रो स्थान कब्जा गरेको छ भने फ्रान्स चौथो स्थानमा सीमित भएको छ।



