काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि निर्माता रूपमा सक्रिय रहेका सुशील पोखरेल अब निर्देशकको रूपमा डेब्यु गर्ने भएका छन्। उनले हरि ओम सिनेमाज प्रा.लि.**को ब्यानरमा निर्माण हुने नयाँ चलचित्र ‘प्रतिज्ञा’मार्फत निर्देशन यात्रा सुरु गर्न लागेका हुन्।
बिहीबार सामाजिक सञ्जालमार्फत चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले ‘प्रतिज्ञा’को औपचारिक घोषणा गरेको हो।
वि.सं. २०५४ सालदेखि चलचित्र निर्माणमा सक्रिय पोखरेलले ‘परदेशी’, ‘मैदान’, ‘जीवनदाता’, ‘जय शिव शंकर’, ‘निगरानी’, ‘बडिगार्ड’, ‘लभ सब’, ‘राधे’, ‘यात्रा’ र **‘परालको आगो’**लगायत चलचित्र निर्माण गरिसकेका छन्। ‘जय शिव शंकर’, ‘जीवनदाता’ र ‘मैदान’ उनका सफल चलचित्रमध्ये गनिन्छन्।

सात वर्षपछि ‘परालको आगो’मार्फत निर्माण क्षेत्रमा पुनरागमन गरेका पोखरेलले यसपटक निर्देशनलाई नयाँ चुनौतीका रूपमा रोजेका हुन्। आफ्नो तीन दशकको अनुभवलाई निर्देशनमा उतार्दै दर्शकमाझ फरक र प्रभावशाली कथा प्रस्तुत गर्ने तयारीमा रहेको उनले बताएका छन्।
उनका अनुसार, ‘प्रतिज्ञा’को कथावस्तुले नै आफूलाई निर्देशनमा आउन प्रेरित गरेको हो।
सार्वजनिक थिम पोस्टरमा भगवान् शिवको विशाल आकृति र त्रिशूललाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ। पोस्टरमा राखिएको ‘जब प्रणाली न्याय दिन असफल हुन्छ, तब एउटा प्रतिज्ञा नै न्याय बन्छ’ भन्ने ट्यागलाइनले चलचित्र न्याय, संघर्ष र अटल संकल्पको कथामा आधारित रहेको संकेत गर्छ।
फ्यामिली थ्रिलर जनरामा निर्माण हुने चलचित्रको छायांकन आगामी तिहारपछि सुरु गर्ने तयारी गरिएको छ। हाल चलचित्रको प्रि–प्रोडक्सनको काम भइरहेको निर्देशक पोखरेलले जानकारी दिएका छन्।
निर्माण टिमले चलचित्रलाई नयाँ वर्ष २०८४ मा प्रदर्शन गर्ने लक्ष्य राखेको छ। कलाकार तथा प्राविधिक टोलीको विस्तृत विवरण भने केही दिनभित्र सार्वजनिक गरिने जनाइएको छ।


