काठमाडौं । निर्देशक सौरभ चौधरीको नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेता सौगात मल्ल मुख्य भूमिकामा अनुबन्ध भएका छन्। ‘अगस्त्यः च्याप्टर १’पछि सौरभ र सौगात दोस्रोपटक एउटै प्रोजेक्टमा सहकार्य गर्न लागेका हुन्।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको केही दिनअघि मात्रै थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरिएको थियो। घोषणा भएको केही दिनमै निर्माण टिमले पहिलो कलाकारका रूपमा सौगात मल्ललाई सार्वजनिक गरेको हो।
‘अगस्त्यः च्याप्टर १’मा सौरभ चौधरीको निर्देशनमा सौगात मल्लको अभिनयले व्यापक प्रशंसा पाएको थियो। यही सफल सहकार्यलाई निरन्तरता दिँदै दुवै फेरि नयाँ चलचित्रमार्फत दर्शकमाझ आउन लागेका हुन्।
निर्देशक सौरभ चौधरीका अनुसार चलचित्रको कथाले सौगातजस्तो बहुआयामिक अभिनय क्षमता भएको कलाकारको माग गर्ने भएकाले उनलाई पहिलो रोजाइमा राखिएको हो। अन्य कलाकारको छनोट प्रक्रिया पनि अन्तिम चरणमा रहेको र छिट्टै सार्वजनिक गरिने उनले बताए।
यस चलचित्रमा सौगात मल्लको भूमिका विशेष र चुनौतीपूर्ण रहनेछ। उनले एउटै चलचित्रमा २५ वर्षको युवकदेखि ८० वर्षको वृद्धसम्मको जीवनयात्रा प्रस्तुत गर्नेछन्। फरक–फरक उमेरका पात्रलाई जीवन्त रूपमा उतार्नुपर्ने भएकाले यो भूमिका उनको करिअरकै महत्वपूर्ण अभिनयमध्ये एक मानिएको छ।
चलचित्रको कथा तथा पटकथा चर्चित साहित्यकार बुद्धिसागरले तयार पारेका हुन्। यसअघि सार्वजनिक गरिएको थिम पोस्टरले ऐतिहासिक परिवेश, युद्ध, शक्ति संघर्ष र साम्राज्य निर्माणको कथालाई संकेत गर्दै चलचित्र एपिक एक्सन ड्रामा शैलीमा निर्माण हुने झल्को दिएको थियो।
निर्देशक चौधरीले यसपटक अघिल्ला चलचित्रभन्दा अझ ठूलो क्यानभासमा फिल्म निर्माण गर्ने तयारी गरेका छन्। निर्माण पक्षले ‘द राइज अफ साम्राज्य’लाई नेपाली सिनेमाको उच्च बजेट र ठूलो स्केलको एक्सन चलचित्रमध्ये एक बनाउने लक्ष्य लिएको जनाएको छ।
चलचित्रको छायांकन आगामी भदौको पहिलो सातादेखि सुरु हुनेछ। करिब ७० दिनको छायांकन तालिका तय गरिएको छ, जसको अधिकांश दृश्य पूर्वी नेपालका विभिन्न स्थानमा खिचिनेछ।
चलचित्रका निर्माता प्रवेश चौधरी र निला देव हुन्। विश्वास बस्नेत (बेन) सह–निर्माता तथा शंकर पाण्डे कार्यकारी निर्माता रहेका छन्।
प्राविधिक टोलीमा मानकृष्ण महर्जन डीओपी, श्री श्रेष्ठ एक्सन निर्देशक रहेका छन्। चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल, पब्लिसिटी पार्टनर टौवा स्टुडियो तथा नेपाल वितरणको जिम्मेवारी डीसीएनले सम्हाल्नेछ।


