काठमाडौं । ब्लकबस्टर चलचित्र ‘परान’का निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘चिरञ्जीवी भवः’को छायांकन सम्पन्न भएको छ। चलचित्रको छायांकन ५१ दिनमा पूरा भएको निर्माण पक्षले जनाएको छ।
जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्रको छायांकन जेठ १५ गतेदेखि सुरु गरिएको थियो। धनकुटा, सुनसरी र काठमाडौंका विभिन्न स्थानमा चलचित्रको छायांकन गरिएको हो।
निर्देशक आचार्यको निर्देशनमा गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘परान’ व्यावसायिक रूपमा सफल हुँदै सर्वाधिक ग्रस कलेक्सन गर्ने नेपाली चलचित्र बनेको थियो। उनको दोस्रो निर्देशकीय चलचित्र ‘चिरञ्जीवी भवः’प्रति पनि दर्शकमाझ उत्सुकता देखिएको छ।
निर्देशक आचार्यले छायांकनमा समय र मेहनत दुवै लगाइएको बताउँदै अब पोस्ट प्रोडक्सनमा पनि उत्तिकै मेहनत गर्ने बताए। उनका अनुसार कलाकार तथा प्राविधिक टोलीले छायांकनमा गरेको मेहनतलाई पोस्ट प्रोडक्सनमा अझ निखारेर दर्शकलाई मन पर्ने चलचित्र बनाउने प्रयास हुनेछ।
कुमार कट्टेल ‘जिग्री ब्रो’को कथामा निर्माण भएको चलचित्रमा दीपक आचार्यसँग उनको सहकार्य रहेको छ। कथालाई सविन अधिकारी र वसन्त न्यौपानेले लेखेका छन्।
सोसल ड्रामामा आधारित ‘चिरञ्जीवी भवः’ले दुई पुस्ताबीचको वैचारिक अन्तर, पारिवारिक सम्बन्ध र त्यसबाट सिर्जना हुने परिस्थितिलाई कथाको केन्द्रमा राखेको छ।
चलचित्रमा हरिवंश आचार्य, करिश्मा मानन्धर, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी मुख्य भूमिकामा छन्। यस्तै कमलमणि नेपाल, रविन्द्र झा, सुमन कार्की, काजल कर्ण, सुवर्ण थापा, सरोज अर्याल, हरिस निरौला ‘कक्रोज’, गीता अधिकारी, रुक्मिला अधिकारी, सुस्मिता कुँवर, अशोक धिताल र सुमन ज्योति न्यौपानेलगायतका कलाकारको अभिनय रहेको छ।
उमेशकुमार बराल र चिरन केसी निर्माता रहेको चलचित्रमा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माता छन्।
चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, मित्र डी. गुरुङको सम्पादन तथा बाबु गिरीको संगीत रहेको छ। गम्भीर विष्ट र किरण थापाले कोरियोग्राफी गरेका छन्। चलचित्रको गीतमा निर्देशक दीपक आचार्यसँगै हर्क साउदको पनि योगदान रहनेछ।
रामबाबु खड्का प्रमुख सहायक निर्देशक रहेको चलचित्रमा सागर बोहोरा, नेत्रबहादुर राउत र लक्ष्मी पौडेल सहायक निर्देशक छन्। सुवास राज काफ्ले प्रोजेक्ट म्यानेजर तथा विशाल न्यौपाने प्रोडक्सन डिजाइनरका रूपमा रहेका छन्।
‘चिरञ्जीवी भवः’ आगामी २०८३ माघ १ गते अर्थात् १५ जनवरीदेखि देशभर प्रदर्शनमा आउनेछ। चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले नेपालभर वितरण गर्नेछ।


