तपाईको प्रतिक्रिया
काठमाडौं । नेपाली मौलिक लोकदोहोरीको संरक्षण, प्रवर्द्धन तथा नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यले निर्माण भइरहेको रगोन स्टुडियो प्रा.लि.को कार्यक्रम ‘लोक दोहोरी च्याम्पियन’*को पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा ‘लोक दोहोरी च्याम्पियन’को उद्देश्य, निर्माण टोली, निर्णायक मण्डल, प्रस्तोता तथा प्रसारण साझेदारबारे जानकारी दिइएको छ। कार्यक्रम प्रमुख अनुपम गौतमका अनुसार लोकदोहोरी क्षेत्रमा रहेका प्रतिभालाई खोजी गरी उनीहरूलाई ठूलो मञ्च उपलब्ध गराउने उद्देश्यले कार्यक्रम निर्माण गरिएको हो।
चलचित्र निर्देशक माधव राज खरेलले निर्देशन गर्ने कार्यक्रमको निर्णायकमा वरिष्ठ गायक तथा सर्जक पुरुषोत्तम न्यौपाने, रीता थापा मगर, पशुपति शर्मा र अमृत खाती रहेका छन्। कार्यक्रमको सञ्चालन कलाकार तथा कमेडियन दिनेश काफ्ले र गायिका इप्सल सञ्ज्यालले गर्नेछन्।
कार्यक्रम व्यवस्थापनको जिम्मेवारी गायक रामप्रसाद अवस्थीले सम्हाल्नेछन्। प्रतियोगी संयोजकमा गायक तथा सर्जक दीपक खड्का, संगीत निर्देशकमा राजु ढकाल र मेन्टर/कोचमा शिव हमाल रहेका छन्। प्रोडक्सनको जिम्मेवारी गिरिराज ढकालले सम्हाल्नेछन् भने छायांकन निर्देशन हेमन्त कटुवालले गर्नेछन्।
गायक तथा सर्जक शिरिश देवकोटालाई ब्रान्ड एम्बेसडर तथा सुवास केसीलाई कार्यक्रम परामर्शदाताका रूपमा अनुबन्ध गरिएको छ।
‘लोक दोहोरी च्याम्पियन’को स्याटेलाइट पार्टनर इमेज टेलिभिजन एचडी, डिजिटल तथा युट्युब पार्टनर म्युजिक नेपाल र भोटिङ पार्टनरमा खल्ती एप तथा आईएमई रहेका छन्। त्यस्तै, हस्पिटालिटी पार्टनरमा प्यासिफिक हस्पिटालिटी र ओपल ग्लोबल तथा फुड पार्टनरमा साप फाल्चा रहेका छन्।
आयोजकका अनुसार ‘लोक दोहोरी च्याम्पियन’को प्रसारण असोज ३ गतेदेखि सुरु हुनेछ। कार्यक्रमले नेपाली लोकदोहोरी क्षेत्रमा नयाँ प्रतिभाको खोजी गर्नुका साथै मौलिक लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।
