काठमाडौं । निर्देशक राजबहादुर सानेको निर्देशनमा बनेको प्रेमकथामा आधारित चलचित्र ‘लज्जावती’ यही साउन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। चलचित्रले प्रेम सम्बन्धमा आउने उतारचढाव, संघर्ष र मानवीय भावनालाई कथाको मुख्य विषय बनाएको छ।
सामाजिक कथावस्तुमा आधारित चलचित्र निर्देशन गर्दै आएका सानेले यसपटक प्रेमकथामार्फत दर्शकमाझ फरक स्वाद पस्किने प्रयास गरेका छन्। उनका अनुसार चलचित्रको कथा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र मेनुका माझीले निर्वाह गरेका चार पात्रको वरिपरि घुम्छ। पात्रकै नामबाट चलचित्रको शीर्षक ‘लज्जावती’ राखिएको हो।
चलचित्रमा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र मेनुका माझी मुख्य भूमिकामा छन्। विनोद श्रेष्ठ, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, दीपक थापा र काजल भुजेललगायत कलाकारको पनि अभिनय रहेको छ।
मुकुनबाहेक अधिकांश कलाकारका लागि यो चलचित्र मुख्य भूमिकामा काम गरेको पहिलो अनुभव हो। नयाँ कलाकार र नयाँ टिमका साथ प्रेमकथालाई फरक शैलीमा प्रस्तुत गरिएको निर्देशक सानेले बताएका छन्।
चलचित्रका टिजर, ट्रेलर तथा ‘दिलको मोटर’ र ‘मलाई पिर परेको’ बोलका गीत सार्वजनिक भइसकेका छन्। सार्वजनिक प्रचार सामग्रीले दर्शकमाझ चलचित्रप्रति चासो बढाएको निर्माण पक्षको दाबी छ।
चलचित्रमा मुकुन भुसाल इ–रिक्सा चालकको भूमिकामा देखिएका छन्। दैनिक जीवन चलाउने क्रममा होटल सञ्चालकसँग उनको प्रेम सम्बन्ध गाँसिने कथा ट्रेलरमा देखाइएको छ। मुकुनले ‘लज्जावती’ आफ्नो पहिलो प्रेमकथामा आधारित चलचित्र भएकाले आफू उत्साहित रहेको बताएका छन्।
अर्का कलाकार श्रीकृष्ण निरौला ‘पागलप्रेमी’को भूमिकामा छन्। पहिलोपटक प्रेममा परेको व्यक्तिले सामना गर्ने पीडा र उतारचढावलाई आफ्नो पात्रमार्फत प्रस्तुत गरिएको उनले बताएका छन्। जानुका विश्वकर्मा र मेनुका माझी पनि चलचित्रमा प्रेमिकाको भूमिकामा देखिएका छन्।
निर्माता कमलप्रसाद शर्माका अनुसार चलचित्र निर्माणमा करिब दुई करोड रुपैयाँ लगानी भएको छ। आहा फिल्म्स प्रालिको प्रस्तुतिमा बनेको चलचित्रका प्रस्तुतकर्ता सौरभ वली हुन्। कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता तथा दिनेश बुढाथोकी कार्यकारी निर्माता रहेका छन्।
तारा थापा ‘किम्भे’को सम्पादन, देव महर्जनको द्वन्द्व निर्देशन र दिव्यराज सुवेदीको छायांकन रहेको चलचित्रलाई कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।


