काठमाडौं । सुदूरपश्चिमको रंगमञ्चबाट अभिनय यात्रा सुरु गरेका कलाकार केशव रिजाल अब नेपाली चलचित्रको ठूलो पर्दामा देखिने भएका छन्। लामो समयदेखि नाटकमा सक्रिय रिजालले निर्देशक राजबहादुर सानेको चलचित्र ‘लज्जावती’बाट मुख्य भूमिकामा फिल्मी यात्रा सुरु गर्न लागेका हुन्।
रिजालले ‘कपट’, ‘बेड नं. ९९’, ‘बहुला काजी’, ‘अवान्तर’ र ‘छित्र क्यानभास’ लगायत चर्चित नाटकमा अभिनय गरिसकेका छन्। राष्ट्रिय नाचघरमा मञ्चन भएका ‘दर्पण’, ‘क्षितिज’ लगायत दर्जनौँ नाटकमा समेत उनले अभिनय गरेका छन्।
रंगमञ्चमा विभिन्न चरित्रमार्फत आफूलाई स्थापित गरेका रिजालले त्यही अनुभवलाई अब चलचित्रको पर्दामा प्रस्तुत गर्ने तयारी गरेका छन्। उनको अभिनय क्षमता र नाट्य पृष्ठभूमिका कारण ‘लज्जावती’मा उनको भूमिकालाई चासोका साथ हेरिएको छ।
पारिवारिक प्रेमकथा तथा सामाजिक यथार्थमा आधारित ‘लज्जावती’मा रिजालसँगै मुकुन भुसाल, मेनुका माझी र श्रीकृष्ण निरौलालगायत कलाकार मुख्य भूमिकामा छन्।
नयाँ कलाकारका रूपमा ठूलो पर्दामा प्रवेश गर्न लागेका रिजालले अनुभवी कलाकारहरूसँग काम गर्ने अवसर पाएका छन्। रंगमञ्चबाट आएका कलाकारहरूले नेपाली चलचित्रमा छुट्टै पहिचान बनाउँदै आएको पृष्ठभूमिमा रिजालको डेब्युलाई पनि सम्भावनाका रूपमा हेरिएको छ।
चलचित्र ‘लज्जावती’ यही साउन २९ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने तयारीमा छ। रिजालको पहिलो फिल्मी अभिनय हेर्न उनका रंगमञ्चका दर्शकसँगै चलचित्रप्रेमी पनि उत्साहित छन्।


