नायक पल शाहको निर्माणमा बन्न लागेको चलचित्र ‘यानीमाया’को आजदेखि छायांकन सुरु भएको छ। गागलफेदीस्थित फिल्म स्टुडियोमा शुभसाइत पूजा गरेपछि चलचित्रको छायांकन थालिएको हो।
ओम प्रतिकको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्रमा पल शाह, अञ्जना मगर, शिशिर वाङ्देल, गजित विष्ट, लोकेन्द्र लेखक, अङ्कित खड्का, राज थापा, कर्मा लामा, संगीता थापा, विशाल पुलामी, नारायणी खत्रीलगायत कलाकारको अभिनय रहनेछ।
सामाजिक प्रेमकथामा आधारित चलचित्रको छायांकन ३५ दिनमा सक्ने निर्माण पक्षको तयारी छ। काठमाडौंमा १० दिन छायांकन गरेपछि टिम पर्वत जानेछ। चलचित्रलाई आगामी फागुन ७ गतेदेखि प्रदर्शनमा ल्याउने घोषणासमेत गरिएको छ।
चन्द्र ज्योती आले र पल शाहको लगानीमा बन्न लागेको चलचित्रमा नवराज उप्रेतीको डीओपी, कुमार महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन र विशाल कार्कीको निर्माण व्यवस्थापन रहनेछ। पल शाहले फिल्म निर्माणमा लाग्दा छुट्टै अनुभूति भएको बताउँदै दर्शकमाझ उत्कृष्ट चलचित्र पस्कने बताएका छन्।


