झरना थापाको निर्देशनमा बन्न लागेको बहुप्रतीक्षित चलचित्र ‘ए मेरो हजुर ५’को शुक्रबार पाटनस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको छ। शुभमुहूर्तको सट खिचेसँगै निर्माण टिम छायांकनका लागि बाजुराको बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्जतर्फ प्रस्थान गरेको छ।
चलचित्रमा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा छन्। ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’पछि यो उनीहरूको तेस्रो सहकार्य हो। यी दुवै चलचित्रमा उनीहरूको जोडीलाई दर्शकले रुचाएका थिए।
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनिलकुमार थापाले निर्माण गर्ने चलचित्रमा दिलीप रायमाझी, झरना थापा, सलोन बस्नेत, निरज पन्थी, आशा भुसाललगायत कलाकारको पनि अभिनय रहनेछ।
यसपटक निर्देशक झरना थापा स्वयं पनि अभिनयमा देखिँदैछिन्। ‘ए मेरो हजुर’को पहिलो श्रृंखलामा मुख्य भूमिकामा देखिएकी झरना करिब २५ वर्षपछि पाँचौँ श्रृंखलामार्फत अभिनयमा फर्किन लागेकी हुन्। उनको भूमिका कस्तो हुनेछ भन्ने कुरा भने निर्माण पक्षले गोप्य राखेको छ।
झरना थापा र सरिन पोखरेलको कथा, पटकथा तथा संवाद रहेको चलचित्रको संगीतमा कल्याण सिंह, आशिष अविरल, कोशिश क्षेत्री, सलिन मगर र एकदेव लिम्बूलगायतको योगदान रहनेछ।
‘ए मेरो हजुर’का अघिल्ला चारै श्रृंखला सफल भएपछि पाँचौँ श्रृंखलालाई लिएर दर्शकमा पनि उत्सुकता बढेको छ। चलचित्रलाई नेपाली नयाँ वर्ष २०८४ को अवसरमा देशभर प्रदर्शनमा ल्याउने निर्माण पक्षले घोषणा गरेको छ।


