काठमाडौं । नेपाली चलचित्र *हली’ले प्रदर्शनको पहिलो सातामा २१ लाख रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गरेको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार साउन २२ गतेदेखि प्रदर्शनमा आएको ‘हली’ले पहिलो सातामा २१ लाख ७७ हजार ६० रुपैयाँ कमाएको हो।
रिपोर्टअनुसार उक्त अवधिमा चलचित्रलाई ७ हजार ७१० जना दर्शकले हेरेका छन्। छाउपडी तथा हली प्रथाविरुद्धको विषय उठाइएको चलचित्रको लेखन तथा निर्देशन ओम प्रतीकले गरेका हुन्।

चलचित्रमा ओम प्रतीकसँगै सरोज खनाल, प्रमोद दीप, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीलगायत कलाकारको अभिनय छ।
यस्तै, ‘हली’सँगै प्रदर्शनमा आएको ‘कमला मिस’को बक्स अफिस प्रदर्शन भने कमजोर देखिएको छ। चलचित्रले पहिलो सातामा २ लाख ६१ हजार ८४५ रुपैयाँ मात्र ग्रस कलेक्सन गरेको छ। सो अवधिमा चलचित्र ७१८ जना दर्शकले हेरेका छन्।
साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रेरित चलचित्र ‘कमला मिस’को निर्देशन निर शाहले गरेका हुन्। चलचित्रमा निर शाह, रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवं सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुङ्गेल, सुशान्तकुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडालगायत कलाकारको अभिनय रहेको छ।


