काठमाडौं । नेपाली चलचित्र ‘गौंथली’ले घरेलु बक्स अफिसमा आफ्नो सफल यात्रा जारी राखेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो बक्स अफिस रिपोर्टअनुसार ‘गौंथली’ले २३ करोड ५५ लाख १२ हजार ५०२ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
बोर्डका अनुसार आइतबार राति १० बजेसम्म चलचित्रलाई ८ लाख ५५ हजार ७५२ जना दर्शकले हेरेका छन्। साउन १ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्र प्रदर्शनको केही सातामै यस वर्ष रिलिज भएका नेपाली चलचित्रमध्ये सर्वाधिक कमाउने फिल्म बनेको थियो।

डा. भोला रिजालको कथामा आधारित चलचित्रको निर्देशन उनका छोरा डा. कपिल रिजालले गरेका हुन्। घर, परिवार, सम्बन्ध र आत्मीयताको कथालाई केन्द्रमा राखिएको चलचित्रले अहिले पनि हलमा राम्रो व्यापार गरिरहेको निर्माण पक्षले जनाएको छ।
चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ। कलाकारसहितको निर्माण टोली विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेको छ।
डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा पटकथा तथा संवाद लेखेको चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडीले वितरण गरेका छन्।


